प्रधानन्यायाधीशको संसदीय सुनुवाई प्रक्रिया सुरु

काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाई समितिले संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाई सुरु भएको हो ।

सवैधानिक परिषद्बाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार प्रक्रिया अघि बढेको हो ।  उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दिन आह्वान गरेको छ ।

सूचना वा उजुरीकर्ताले पत्रमार्फत वा आफै समिति सचिवालयमा उपस्थिति भई उजुरी दिनसक्ने व्यवस्था गरेको छ ।  तोकिएको समयावधिभित्र उजुरी प्राप्त भएको खण्डमा ससदीय समितिले त्यसबारे जानकारी लिँदै संसदीय सुनुवाइ गर्नेछ ।

समिति समक्ष उनले प्रधानन्यायाधीश भएको खण्डमा आफूले अघि बढाउने कार्ययोजना, अनुभव, अवधारणा र सोच प्रस्तुत गर्ने छन् । सुनुवाइ समितिले नाम अनुमोदन गरेको खण्डमा राष्ट्रपतिबाट उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने छन् ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बैठक बसेको थियो ।

सेयर गर्नुहोस्