कामदार बनेर पसेको रेस्टुरेन्टकै सञ्चालक बनिन् ऊरुषा थापा : आँसुबीच पनि नरोकिएको साहसको यात्रा

कुनै समय काम खोज्दै प्रवेश गरेको रेस्टुरेन्टको साँचो एक दिन आफ्नै हातमा आउला भन्ने ऊरुषा थापाले सायदै सोचेकी थिइन्। किचन हेल्परबाट सुरु भएको यात्राले उनलाई त्यही रेस्टुरेन्टको सञ्चालक बनायो। आफ्नै मेहनत, सिक्ने इच्छाशक्ति र परिवारको साथले जीवनमा खुसीका रङहरू भरिँदै थिए। तर त्यही बेला जीवनले यस्तो चोट दियो, जसपछि उनले व्यवसायसँगै आफ्नो मन र सानी छोरीको संसार पनि सम्हाल्नुपर्‍यो।
आज लिस्बनको ‘Fenicios’ रेस्टुरेन्ट सम्हालिरहेकी ऊरुषाको परिचय एक व्यवसायीमा मात्र सीमित छैन। उनी सीपले आफ्नो स्थान बनाएकी उद्यमी हुन्, सहकर्मीहरूलाई रोजगारी दिइरहेकी जिम्मेवार सञ्चालक हुन् र गहिरो वियोगबीच छोरीको भविष्यका लागि अघि बढिरहेकी आमा हुन्।
हाम्रो समाजमा जन्मेको छैटौँ दिन भावीले भाग्य लेखिदिन्छन् भन्ने जनविश्वास छ। तर भाग्यमा जे लेखिएको मानिए पनि जीवनलाई आकार दिन मेहनत गर्नैपर्छ। राम्रो बीउलाई पनि उम्रन मलिलो माटो, चिस्यान र स्याहार चाहिन्छ। मानिसलाई पनि अघि बढ्न अवसर, विश्वास र अप्ठ्यारोमा समाइदिने हात चाहिन्छ। ऊरुषाको यात्रामा यी सबैको महत्त्व छ—र छ, पटकपटक चोट खाँदा पनि फेरि उठ्ने उनको साहस।
काठमाडौंकी ऊरुषा स्नातक अध्ययन सकेपछि नयाँ अवसर र अनुभवको खोजीमा सन् २०१८ को सुरुतिर विद्यार्थी भिसामा हंगेरी पुगिन्। तर त्यहाँको बसाइ सोचेजस्तो भएन। भविष्यको अर्को बाटो खोज्दै उनी त्यही वर्षको मध्यतिर पोर्तुगल आइपुगिन्।
नयाँ देशमा सुरुवाती दिन सहज थिएनन्। कानुनी प्रवेशको प्रक्रिया, फिनान्स र सामाजिक सुरक्षासम्बन्धी दर्ता तथा तत्कालीन सेफका प्रशासनिक काम मिलाउँदै केही महिना बिते। त्यसपछि उनले आफू बस्ने ठाउँनजिकैको लेबनानी खाना पाइने ‘Fenicios’ रेस्टुरेन्टमा किचन हेल्परको काम सुरु गरिन्।
ऊरुषाले कामसँगै सीप सिकिन्, जिम्मेवारी बुझिन् र आफूलाई निखार्दै लगिन्। करिब छ महिनामै उनी किचन सम्हाल्न सक्ने भइन्। सन् २०१९ को मध्यतिरबाट भान्साको मुख्य जिम्मेवारी उनकै काँधमा आयो। अपरिचित देश र फरक खानाको भान्सामा उनले आफ्नो मेहनतबाट विश्वास कमाइन्।
यही यात्राबीच पहिल्यै चिनजान भएका निराकर अधिकारीसँग उनको आत्मीयता बढ्यो। कुराकानी हुँदै गयो, मन मिल्यो र परिवारको सल्लाहमा सन् २०२२ मा नेपाल पुगेर उनीहरूले विवाह गरे। पोर्तुगल फर्किएपछि दुवैले डेराको घरमा आफ्ना साझा सपनाहरू सजाउन थाले। सन् २०२४ मा छोरी जन्मिएपछि परिवारको खुसी अझ थपियो।
तर सन्तानको आगमनसँगै काम र परिवारलाई कसरी समय दिने भन्ने नयाँ जिम्मेवारी पनि आयो। गर्भावस्थासँगै ऊरुषाले काम छोडेपछि रेस्टुरेन्टमा अनुभवी जनशक्तिको अभाव भयो। यता दम्पतीलाई पनि छोरीको हेरचाह गर्दै जीविका चलाउने उपाय चाहिएको थियो। यही परिस्थितिमा उनीहरूले आफूले चिनेको, काम सिकेको र पसिना बगाएको त्यही रेस्टुरेन्ट लिएर व्यवसाय गर्ने निर्णय गरे।
कुनै दिन कामदार बनेर प्रवेश गरेकी ऊरुषा अब त्यही रेस्टुरेन्टको सञ्चालक बनिन्।
यो परिवर्तनसँगै आर्थिक जोखिम र थप जिम्मेवारी पनि आएका थिए। तर भान्साको सीप र कामको अनुभव उनको ठूलो आधार थियो। ऊरुषाले किचन सम्हालिन्, निराकरले किनमेल र बाहिरका काममा साथ दिए। पुरानो रेस्टुरेन्टलाई रङ लगाएर चिटिक्क बनाउन पनि उनी आफैँ खटिए। अरूलाई रोजगारी दिँदै दम्पतीले आफ्नो व्यवसाय अघि बढाए। छोरीलाई पालैपालो समय दिन्थे, काम बाँड्थे र भविष्यका योजना बनाउँथे।
दुई जनाको साथ हुँदा कठिनाइ पनि सामना गर्न सकिन्छ भन्ने भरोसा बढ्दै थियो। तर सन् २०२५ नोभेम्वर को अन्तीम साता मा उनीहरूको जीवनमा अप्रत्याशित विपत्ति आयो।
पेट दुखेपछि निराकर अस्पतालको आकस्मिक सेवामा पुगे। सामान्य उपचारपछि घर फर्किने आशा थियो। तर उनलाई भर्ना गरियो। केही दिनको प्रतीक्षा लम्बिँदै गयो। पाँच दिन, सात दिन, दस दिन हुँदै जाँदा ऊरुषाको चिन्ता पनि बढ्दै गयो।
एकातिर सानी छोरी, अर्कोतिर रेस्टुरेन्ट र अस्पतालमा उपचाररत जीवनसाथी। ऊरुषा अस्पतालले भेट्न छुट्याएको समयमा ट्याक्सी लिएर श्रीमान्सँग पुग्थिन्। केही समय उनको साथमा बस्थिन्, निको हुने आशा बोकेर फर्कन्थिन्। प्रार्थना गर्थिन्, आफन्त र शुभचिन्तकसँग आशीर्वाद माग्थिन्।
तर करिब पाँच महिनाको उपचारपछि निराकरको निधन भयो। उनलाई निको पारेर घर ल्याउने ऊरुषाको आशा अधुरै रह्यो।
सँगै बस्ने घर थियो, मिलेर सम्हालेको व्यवसाय थियो, हुर्कँदै गरेकी छोरी थिइन्। तर यी सबैसँग जोडिएका सपना बाँड्ने जीवनसाथी अब साथमा थिएनन्। ऊरुषाका लागि त्यो पीडा शब्दमा अटाउने थिएन।
त्यही शोकबीच छोरीको रुवाइले उनलाई फेरि वर्तमानमा फर्काउँथ्यो। सानी छोरीलाई आमाको काख चाहिएको थियो, समय चाहिएको थियो, सुरक्षित भविष्य चाहिएको थियो। आफ्नो मन थाम्नसमेत कठिन भइरहेका बेला ऊरुषाले छोरीलाई सम्हाल्नुपर्‍यो।
दुःखको समयमा आफन्त, साथी र शुभचिन्तकको सहानुभूति ठूलो सहारा हुन्छ। तर घरभाडा, पानी, बिजुली, कर र कर्मचारीको तलबको जिम्मेवारी रोकिँदैन। ऊरुषाले पनि यी जिम्मेवारीसँगै फेरि काममा फर्कने साहस जुटाइन्।
छोरीलाई बालविद्यालयमा राखिन् र रेस्टुरेन्ट सम्हाल्न थालिन्। तर फर्केर काम गर्नु पनि सजिलो थिएन। श्रीमान्ले रङ लगाएका भित्ता, सँगै काम गरेका ठाउँ र दैनिक जीवनका ससाना सम्झनाहरू त्यहीँ थिए। सुरुका दिनमा उनलाई निराकर कतै नजिकै काम गरिरहेका छन् जस्तो अनुभूति हुन्थ्यो। अनि उनी साथमा नरहेको यथार्थ सम्झँदा मन फेरि भक्कानिन्थ्यो।
ऊरुषा ती सम्झनाहरू बोकेरै काम गरिरहिन्।
यस कठिन समयमा सहकर्मीहरूको साथ उनका लागि ठूलो आधार बन्यो। उनीहरूले काममा सहयोग गरे, जिम्मेवारी बाँडे। अहिले उनले आफ्नी साथीलाई किचनको जिम्मेवारी दिएकी छन्। बिहान नौ बजे छोरीलाई बालविद्यालय पुर्‍याएपछि रेस्टुरेन्टका लागि आवश्यक सामान किन्छिन् र करिब एघार बजे काममा पुग्छिन्। त्यतिन्जेल सहकर्मीहरूले रेस्टुरेन्ट खोलिसकेका हुन्छन्।
दिउँसो पौने चार बजे छोरी लिन जानुपर्छ। सानी छोरीलाई लिएर साँझसम्म रेस्टुरेन्टमा बस्न कठिन हुने भएकाले साँझको जिम्मेवारी सहकर्मीहरूलाई दिएकी छन्। यसरी उनी आमा र व्यवसायीका जिम्मेवारी मिलाउँदै दिन बिताइरहेकी छन्।
केही दिनअघि हामीले सोध्यौँ, “बैनी, व्यवसाय कस्तो चलिरहेको छ?”
ऊरुषाले आफ्नो अवस्था सुनाइन्। पहिले श्रीमान्–श्रीमती दुवैले समय दिन सक्थे। अहिले श्रीमान्ले सम्हाल्ने कामका लागि थप जनशक्ति चाहिएको छ। छोरीलाई पनि समय दिनैपर्छ। तीन जना कर्मचारीको तलब, सामाजिक सुरक्षा योगदान, कर र व्यवसायका अन्य खर्च नियमित छन्। लेबनानी खानाको आफ्नै स्वाद र ग्राहक छन्, तर नयाँ ग्राहकसम्म पुग्नु पनि उत्तिकै आवश्यक छ।
उनका अनुसार बढ्दो सञ्चालन खर्च र पर्यटकको चहलपहलमा आएको कमीले व्यवसाय चलाउन थप चुनौती दिएको छ। यति सुनाउँदै उनले भनिन्, “धानिएकै छु दाजु, संघर्ष गर्दैछु।”
अनि मनभित्रको थकान शब्दमा पोखिन्—“सायद म र संघर्ष भन्ने शब्द पर्यायवाची हौँ कि जस्तो लाग्छ।”
उनका यी कुरा सुनेपछि थप प्रश्न गर्न मन लागेन। कहिलेकाहीँ कसैको पीडा बुझ्न धेरै प्रश्न चाहिँदैन। ध्यान दिएर सुनिदिनु पनि सम्मान हो।
तर ऊरुषाको जीवनलाई दुःखको कथामा मात्र सीमित गर्नु उनीमाथि न्याय हुँदैन। उनले आफ्नै सीपले जिम्मेवारी कमाएकी छन्। कामदारबाट सञ्चालक बनेकी छन्। व्यक्तिगत शोकबीच पनि सहकर्मीहरूको रोजगारी र ग्राहकप्रतिको जिम्मेवारी निभाइरहेकी छन्। छोरीको हेरचाह गर्दै व्यवसायलाई निरन्तरता दिइरहेकी छन्। उनको परिचयमा पीडासँगै योग्यता, आत्मसम्मान र साहस पनि उत्तिकै बलियो छ।
ऊरुषा सधैँ बलियो देखिनैपर्छ भन्ने छैन। उनलाई पनि थाक्ने, रुने र कसैको साथ खोज्ने अधिकार छ। उनले अहिलेसम्म सम्हालेका जिम्मेवारीको सम्मान गर्नु र उनको मेहनतलाई उचित मूल्य दिनु हाम्रो तर्फबाट अर्थपूर्ण साथ हुन सक्छ।
लिस्बनमा लेबनानी खानाको स्वाद लिन चाहनेहरूले ‘Fenicios’ लाई सम्झनुहोला। त्यहाँको खानासँग एक नेपाली महिलाको वर्षौँको सीप, परिश्रम र आफ्नो खुट्टामा उभिइरहने अठोट जोडिएको छ।
ऊरुषा,वैनी तपाईंले भोग्नुभएको वियोग कुनै शब्दले मेटाउन सक्दैन। तर तपाईंको मेहनत देख्ने, साहसको सम्मान गर्ने र तपाईंको भलो चाहने मानिसहरू छन्। तपाईं र छोरीको जीवनमा अब सुख, सुरक्षा र न्यानोपन थपिँदै जाओस्। व्यवसायले स्थिरता पाओस्, मनले विश्राम पाओस् र छोरीको मुस्कानसँगै तपाईंका आफ्ना खुसीहरू पनि फर्किँदै जाऊन्।
युरोप चौतारी परिवारका तर्फबाट तपाईंको मेहनतलाई सम्मान र आगामी यात्राका लागि हार्दिक शुभकामना।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *