छोडपत्रले नछिनेको माया
रमेश राज बास्तोला लिजवन, पोर्तुगल
मानिस सामाजिक प्राणी हो। ऊ चेतनशील छ, तर चेतना हुँदाहुँदै पनि सधैँ सही निर्णय गर्न सक्दैन। उसको मन दया, माया, प्रेम र करुणाले भरिएको हुन्छ, तर कहिलेकाहीँ त्यही मन परिस्थितिका अगाडि असहाय बनिदिन्छ।
कसैले चाहेर पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन। कसैले पूरा गर्न सक्ने जिम्मेवारीबाट पनि मुख फर्काउँछ। कोही सम्बन्ध जोगाउन आफ्ना धेरै चाहना त्याग्छन्, कोही विश्वासघात र छलले जोगिएको सम्बन्धसमेत भत्काउँछन्।
सम्बन्धको संसार पनि अनौठो छ। एउटै छानामुनि बसेर पनि मनले धेरै टाढा पुगेका मानिसहरू भेटिन्छन्। अनि कानुनी रूपमा छुट्टिएर पनि एकअर्काको सम्मान र आत्मीयता जोगाइरहेका मानिसहरू पनि हुँदारहेछन्।
केही वर्षअघि एक नेपाली महिलाले भन्नुभएको थियो, “मलाई उहाँसँग एकरत्ति पनि बस्न मन छैन। तर के गर्नु, छोराछोरीका लागि सँगै बसेकी छु।”
उहाँको त्यो वाक्यमा रिसभन्दा बढी थकान थियो। गुनासोभन्दा बढी विवशता थियो।
हाम्रो समाजमा यस्ता धेरै दम्पती छन्। भित्र बोलचाल हुँदैन, बाहिर हाँसेजस्तो गर्छन्। मनमा आत्मीयता बाँकी हुँदैन, तर समाजका अगाडि मिलेको परिवार देखाउनुपर्छ। कहिले सन्तानका लागि, कहिले समाजको डरले, कहिले भोलिको अनिश्चितताले उनीहरू एउटै घरमा बसिरहेका हुन्छन्।
तर सबैका कथा एउटै हुँदैनन्।
मैले पोर्तुगलमा यस्तो सम्बन्ध पनि देखेँ, जहाँ विवाह टुङ्गियो, तर सम्मान टुङ्गिएन। सँगै बस्ने यात्रा रोकियो, तर सन्तानप्रतिको जिम्मेवारी रोकिएन।
त्यो कथा हो—ज्वाओ र सोफियाको।
पोर्तुगल बसाइका क्रममा हामी छिमेकी भयौँ। बाटोमा भेटिँदा हुने सामान्य अभिवादन बिस्तारै आत्मीय कुराकानीमा बदलियो। सन् २०१७को अन्त्यतिरबाट ज्वाओसँग हाम्रो निकटता बढ्न थाल्यो।
नेपालका हिमालको कुरा सुन्नासाथ उनका आँखा चम्किन्थे। दालभात उनलाई औधी मन पर्थ्यो। पेसाले इन्जिनियर ज्वाओसँग आफ्नै कम्पनी थियो, जहाँ करिब बाइस–पच्चीस जनाले काम गर्थे।
सन् २०१८मा उनले हामीलाई श्रीमती सोफिया र छोरी लारासँग चिनाए।
सुरुमा सोफिया केही गम्भीर र अलि कडा स्वभावकी लागेकी थिइन्। तर संगत बढ्दै जाँदा बुझियो—उनी व्यावहारिक, परिपक्व र सहयोगी महिला रहिछन्। सबै मानिसको आत्मीयता पहिलो भेटमै खुल्दैन रहेछ। कतिपयको मन बुझ्न समय दिनुपर्ने रहेछ।
हामी दुई परिवार प्रायः पन्ध्र दिनमा / कहिले महिना मा एकपटक भेट्थ्यौँ। खाना खान्थ्यौँ, गफ गर्थ्यौँ, सुखदुःख साट्थ्यौँ।
हाम्रो एउटा समझदारी थियो—कसैले कसैको फोटो सामाजिक सञ्जालमा नराख्ने। सोफियाको तस्वीर पहिले एकपटक दुरुपयोग भएको रहेछ। हामीले त्यो संवेदनशीलतालाई सम्मान गर्यौँ। वर्षौँको आत्मीयतामा पनि एकअर्काको निजी जीवनलाई सार्वजनिक प्रदर्शनको विषय बनाएनौँ।
सोफिया अस्पतालमा काम गर्थिन्। छोरी लारा पढाइसँगै अन्य गतिविधिमा पनि अब्बल थिइन्। आफूभन्दा ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने उनको स्वभाव देख्दा लाग्थ्यो—बुबाआमाले छोरीलाई राम्रो शिक्षा मात्र होइन, राम्रो संस्कार पनि दिएका रहेछन्।
बाहिरबाट हेर्दा त्यो परिवारमा केही कमी देखिँदैनथ्यो।
ज्वाओले सोफियालाई नराम्रो बोलेको मैले सुनिनँ। सोफियाले पनि ज्वाओको अपमान गरेको देखिनँ। उनीहरूमा आत्मीयता थियो, व्यवहारमा मिठास थियो। तीनै जना सँगै हिँड्दा परिवार असाध्यै सुहाएको लाग्थ्यो।
तर बाहिरबाट देखिने चित्रले घरभित्रका सबै भावना बताउँदैन रहेछ।
सन् २०२४को जनवरीमा लाराको अठारौँ जन्मदिन भव्य रूपमा मनाइयो। सयभन्दा बढी मानिस उपस्थित थिए। हामी पनि छोरीको खुसीमा रमायौँ र घर फर्कियौँ।
केही हप्तापछि ज्वाओसँग भेट भयो।
उनले सामान्य स्वरमा भने, “मेरो र सोफियाको सम्बन्धविच्छेद भयो। म अहिले अलि टाढा बस्छु।”
म एकछिन बोल्नै सकिनँ।
भर्खरै छोरीको जन्मदिनमा सँगै हाँसेको परिवार आँखाअगाडि आयो। त्यति आत्मीय देखिने दुई मानिस कसरी छुट्टिए होलान्?
उनीहरूको निर्णयभन्दा बढी हामी आफ्नै कल्पनाले दुःखी भयौँ। अब पहिलेझैँ सँगै बसेर खान पाइँदैन होला। ज्वाओलाई बोलाउँदा सोफियालाई के लाग्ला? सोफियालाई बोलाउँदा ज्वाओ अप्ठ्यारो मान्लान् कि?
तर ज्वाओले हाम्रो अप्ठ्यारो सजिलै बुझिदिए।
“तिमीहरू सोफियासँग भेटिराख। उनलाई बोलाऊ। हामी छुट्टियौँ भन्दैमा तिमीहरूको सम्बन्ध किन छुट्नुपर्यो?”
पछि सोफियासँग कुरा भयो। उनले भनिन्, “हामीले छुट्टिने निर्णय पहिले नै गरेका थियौँ। तर लारा अठार वर्षकी भएपछि प्रक्रिया पूरा गर्ने सहमति थियो। उसको हुर्काइमा दुवैको साथ रहोस् भन्ने चाहन्थ्यौँ।”
त्यो उनीहरूको आपसी निर्णय थियो। सबै परिवारले त्यही बाटो अपनाउन सक्छन् भन्ने होइन। तर उनीहरूको कुरामा मलाई छोएको पक्ष थियो—आफ्नो सम्बन्धका बारेमा निर्णय गर्दा छोरीको जीवनलाई गम्भीरतापूर्वक सोचिएको थियो।
उनीहरूले एकअर्कासँग छुट्टिने तयारी गरेछन्, छोरीसँग छुट्टिने होइन।
सम्बन्धविच्छेदपछि पनि ठूला जन्मदिन वा सामूहिक भोजमा दुवै आउँथे। ज्वाओ कहिलेकाहीँ नयाँ प्रेमिकासँग आउँथे। सोफिया छोरी लारासँग आउँथिन्। सामान्य अभिवादन हुन्थ्यो, सहज कुराकानी हुन्थ्यो।
हामीलाई अनौठो लाग्ने दृश्य उनीहरूका लागि स्वाभाविक थियो।
हामी भने मनमनै उनीहरू फेरि मिलून् भन्ने चाहन्थ्यौँ। कहिलेकाहीँ जिस्क्याउँथ्यौँ पनि, “तिमीहरू दुईजस्तो अरू कोही सुहाउँदैन!”
तर हामीले राम्रो देखेको जोडीलाई उनीहरूले फेरि दाम्पत्य सम्बन्धमै फर्काउनुपर्छ भन्ने थिएन। उनीहरू आफ्नो निर्णयमा स्पष्ट थिए। उनीहरूको सम्बन्धको सम्पूर्ण कथा हामीलाई थाहा थिएन, र त्यो सुनाउन उनीहरू बाध्य पनि थिएनन्।
सन् २०२६को जनवरीतिर एक दिन ज्वाओले मलाई आफूसँग कतै जान आग्रह गरे। म पनि तयार भएँ।
हामी एउटा घरमा पुग्यौँ। त्यो उनले छोरीका लागि किनिदिएको घर रहेछ, जहाँ लारा र सोफिया बस्दा रहेछन्।
भान्सामा केही बिग्रिएकाले सोफियाले प्राविधिक पठाइदिन अनुरोध गरेकी रहिछन्। ज्वाओ भने आफैँ पुगे।
उनले गाडीबाट औजार निकाले र काम गर्न थाले। म उनीहरूलाई हेरिरहेको थिएँ। त्यहाँ न पुराना हिसाबकिताब थिए, न कटु वचन। आवश्यक परेको बेला गरिएको सहज सहयोग थियो।
काम सकिएपछि सोफियाले मलाई घर देखाइन्। लाराको पढ्ने ठाउँ, कोठाहरू र भित्तामा सजिएका तस्वीरहरू देखाउँदै गइन्।
एउटा तस्वीरतिर औँल्याउँदै भनिन्, “यो हामीले चर्चमा विवाह गर्दाको फोटो हो।”
अर्को देखाउँदै भनिन्, “योचाहिँ हाम्रो सम्बन्धविच्छेद भएको दिनको।”
म केहीबेर ती तस्वीर हेरिरहेँ।
एउटा तस्वीरले सँगै सुरु गरेको यात्रा सम्झाइरहेको थियो। अर्कोले त्यस यात्राले लिएको नयाँ मोड। दुवै तस्वीर एउटै घरमा अटाएका थिए। उनीहरूले आफ्नो विगतलाई घृणा गरेर मेटाएका रहेनछन्।
त्यो दृश्यले मलाई भावुक बनायो।
ज्वाओले बियर मागे। सोफियाले दिइन्। उनीहरू सामान्य कुरामा हाँसे, बोले। उनीहरूलाई हेर्दा केही क्षणका लागि सम्बन्धविच्छेद भइसकेको कुरा नै बिर्सिएँ।
फर्किने बेला सोफियाले जिस्किँदै सोधिन्, “मेरो लागि केही खानेकुरा ल्याएनौ?”
ज्वाओले के खाने भनेर सोधे। पछि छोरीसँग पठाइदिने कुरा भयो। उनीहरूले सामान्य बिदाइ गरे।
त्यो बिदाइमा मैले कटुता देखिनँ। एकअर्कामाथिको अधिकार छोडिसकेका, तर आत्मीयता नमेटाएका दुई मानिस देखेँ।
बाटोमा मैले सोधेँ, “सोफिया कस्ती लाग्छिन् अहिले?”
ज्वाओले भने, “झन् राम्री भएकी छन्।”
एकछिनपछि थपे, “तर हाम्रो सम्बन्धविच्छेद भइसकेको छ। मेरो अहिले अर्को सम्बन्ध छ। म सोफियासँग फेरि श्रीमान्–श्रीमतीको सम्बन्धमा फर्किने छैन। तर उनीप्रतिको माया, सद्भाव र सम्मान सधैँ रहनेछ। हाम्रो छोरी लारा छिन्। म सोफियाप्रति कहिल्यै नराम्रो हुन चाहन्नँ।”
भोलिपल्ट सोफिया हाम्रो घर आइन्। मैले फेरि जिस्क्याएँ, “हिजो त तिमीहरू प्रेमी–प्रेमिकाजस्तै देखिएका थियौ!”
उनी हाँसिन्।
“ओ मालुको! तिमीले हामी दुईलाई मात्र हेरेर बसेको हो?”
त्यसपछि गम्भीर हुँदै भनिन्, “हामी छुट्टियौँ भन्दैमा सबै कुरा नराम्रो हुनुपर्छ र? उनी खुसी रहून् भन्ने चाहन्छु। हामी अब श्रीमान्–श्रीमती होइनौँ। तर लाराका बुबाआमा त सधैँ हौँ।”
उनको अर्को वाक्य मेरो मनमा बसिरह्यो।
“हामी दुई किनार भए पनि छोरी हाम्रो पुल बनेकी छिन्।”
उनले ज्वाओको प्रशंसा गरिन्। हामीलाई उनलाई बोलाइरहन भनिन्। आफ्नो जीवनबाट छुट्टिएको मानिसको सम्मान जोगाउन उनी कत्ति पनि हिचकिचाइनन्।
त्यस दिन मैले सम्बन्धको एउटा फरक अर्थ बुझेँ।
विवाह टुट्नु र मानिसप्रतिको सम्मान टुट्नु एउटै कुरा रहेनछ। दाम्पत्य सकिनु र अभिभावकको जिम्मेवारी सकिनु पनि एउटै रहेनछ।
हाम्रो समाजमा कहिलेकाहीँ सम्बन्धविच्छेदपछि एकअर्कालाई दोष लगाउने, सामाजिक सञ्जालमा अपमान गर्ने र सन्तानलाई समेत आफ्नो पक्षमा उभ्याउन खोज्ने व्यवहार देखिन्छ। त्यतिबेला हामीले बिर्सन्छौँ—हामीले गाली गरिरहेको मानिस त्यही बच्चाको आमा वा बुबा हो।
आमालाई होच्याउँदा बच्चाको मनको एउटा हिस्सा दुख्छ। बुबालाई घृणाको पात्र बनाउँदा अर्को हिस्सा दुख्छ। बच्चाले मुखले केही नभने पनि उसका प्रश्न र पीडा हराउँदैनन्।
छुट्टिनुपर्ने कारण गम्भीर हुन सक्छ। हिंसा, अपमान र असुरक्षाबीच कसैले जबर्जस्ती बस्नुपर्छ भन्ने होइन। तर सुरक्षित रूपमा सम्भव भएसम्म, अलग भएपछि पनि सन्तानको हेरचाह, समय, शिक्षा र भावनात्मक साथको जिम्मेवारी निभाउन सकिन्छ।
नयाँ सम्बन्ध सुरु गर्दैमा पुरानो सन्तानप्रतिको जिम्मेवारी पुरानो हुँदैन। अर्को घर बसाउँदैमा पहिलेको घरमा तपाईंलाई पर्खिने बच्चाको आवश्यकता सकिँदैन।
बच्चालाई खर्च मात्र चाहिँदैन। उसको कुरा सुनिदिने समय चाहिन्छ। बिरामी हुँदा साथ चाहिन्छ। विद्यालयको कार्यक्रममा खोज्दा भेटिने अनुहार चाहिन्छ। सबैभन्दा बढी, “तिमी हाम्रो झगडाको कारण होइनौ, र हामी छुट्टिए पनि तिमीप्रतिको माया घटेको छैन” भन्ने भरोसा चाहिन्छ।
ज्वाओ र सोफियाको कथाले मलाई यही सिकायो।
उनीहरू फेरि श्रीमान्–श्रीमती भएनन्। तर छोरीले आमालाई माया गर्दा बुबालाई धोका दिएको महसुस गर्नुपरेन। बुबासँग खुसी हुँदा आमाको मन दुख्ला भनेर डराउनुपरेन।
सायद सन्तानलाई दिन सकिने ठूलो उपहारमध्ये यो पनि एउटा हो।
आज पनि उनीहरूलाई सम्झिँदा मनमनै कामना गर्छु—छुट्टिनुपर्ने सम्बन्धहरूमा पनि यति मानवीयता बाँकी रहोस्। कुनै बच्चाले बुबाआमामध्ये एकलाई रोजेर अर्कोलाई गुमाउन नपरोस्।
छोडपत्रमा दुई जनाको हस्ताक्षर हुन्छ। तर त्यस निर्णयको असर सन्तानको मनमा पनि पुग्छ। त्यसैले कलम चलाउँदा आफ्नो दुःखसँगै उसको भोलि पनि सम्झौँ।
श्रीमान्–श्रीमतीको सम्बन्ध अन्त्य हुन सक्छ। तर सन्तानले “आमा” र “बुबा” भनेर बोलाउने सम्बन्धको जिम्मेवारी अन्त्य हुँदैन।
ज्वाओ र सोफिया कानुनले छुट्टिएका थिए। तर सम्मान, सम्झना र छोरीप्रतिको मायाले जोडिएका थिए।
मलाई उनीहरूको कथा सम्बन्धविच्छेदको भन्दा पनि सम्बन्धविच्छेदपछि जोगाइएको मनको कथा लाग्छ।