४०० युरोको तलबबाट Porsche Taycan Turbo S को स्टेयरिङसम्म : पोर्तुगलमा १५ वर्षको संघर्षले पाँच रेस्टुरेन्टकी मालिक र ५४ जनाको रोजीरोटीको आधार बनेकी नेपाली चेली अनु गुरुङको अद्भुत सफलता

“संघर्षले खारिएकी, परिश्रमले निखारिएकी र सफलताले पनि विनम्रता नखोसेकी एक नेपाली नारीको प्रेरणादायी जीवनयात्रा।” 👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
संसारमा हरेक व्यक्ति समय र परिस्थितिको दास हो। समय र परिस्थितिले कसलाई कहाँ पुर्‍याउँछ, कसैलाई थाहा हुँदैन। तर हामी नेपालीहरू समय र परिस्थितिले विदेश पुर्‍याउनुअघि नै आफैँ विदेश जाने बाटो खोज्न थाल्छौँ। कसैका लागि विदेश बाध्यता हुन्छ, कसैका लागि रहर। पोखराको रानीपौवाकी अनु गुरुङको विदेशयात्रा भने अभावले होइन, केही गरेर देखाउने हुटहुटीले सुरु भएको थियो। उच्च शिक्षा पूरा गरिसकेकी उनलाई खानलाउनकै लागि विदेशिनुपर्ने बाध्यता थिएन। तर आफ्नो समुदायमा कोही हङकङको आईडी भएका, कोही सिङ्गापुरे लाहुरे, कोही ब्रिटिस लाहुरे भएको देख्दा उनलाई पनि विदेश जाने र युरोपेली कार्ड (आईडी) बनाउने रहर जाग्यो। सन् २०११ मा उनी जर्मनी आइपुगिन्। जर्मनीमा मन रमाएन, बेल्जियम पुगिन्। बेल्जियममा रहँदा पोर्तुगलमा आवासीय कार्ड बनाएपछि पछि नागरिकता र रातो पासपोर्ट प्राप्त गर्न सहजै सकिन्छ भन्ने सुनिन्। अनि त्यही वर्ष पोर्तुगल आइपुगिन्। तर सोचेजस्तो कहाँ थियो र पोर्तुगल! त्यतिबेला देश आर्थिक संकटमा थियो। काम पाउन कठिन, त्यसमाथि कन्ट्र्याक्ट दिने रोजगारदाता भेट्नु झन् गाह्रो। अन्ततः अनुले एउटा चिनियाँ रेस्टुरेन्टमा वेटरको काम पाइन्। तलब महिनाको जम्मा ४०० युरो, काम दैनिक १२/१२ घण्टा। न्यूनतम सेवा सुविधा पनि पर्याप्त थिएन। उनको भनाइअनुसार करसमेत नकटाई गरिने त्यो काममा दुःख थियो, थकान थियो, तर भविष्यको आशा पनि थियो। आफ्नै रहरले विदेश आएकी उनले परिवारलाई कामको कठिनाइबारे धेरै कुरा सुनाइनन्। पोर्तुगलको कार्ड बन्ला, पछि रातो पासपोर्ट पाइएला भन्ने आशामा एक वर्ष त्यहीँ काम गरिन्। त्यसपछि लिस्बनको साल्दान्हा नजिकैको तारे होटलमा काम पाइन् र त्यहाँ करिब दुई–तीन वर्ष बिताइन्। यसबीच आफ्नै कुलखानदानका एक युवासँग उनको विवाह भइसकेको थियो र श्रीमान् पनि पोर्तुगल आइपुग्नुभएको थियो। उहाँ अरिगातो सुसी रेस्टुरेन्टमा काम गर्ने अनुभवी सेफ हुनुहुन्थ्यो। एकातिर अनुको संघर्षबाट आर्जित अनुभव, अर्कोतिर श्रीमान्को पाककलाको सीप। दुवैको मनमा केही आफ्नै गर्ने इच्छा जाग्यो। आखिर जीवनभर अरूको रेस्टुरेन्टमा मात्रै काम गर्ने कि आफ्नै व्यवसाय सुरु गर्ने? यही प्रश्नले उनीहरूको जीवनको दिशा बदलिदियो। कुनै बेला ४०० युरो कमाउन दिनभर उभिने ती हातहरूले भविष्यमा दर्जनौँ मानिसलाई रोजगारी दिने व्यवसाय निर्माण गर्नेछन् भन्ने कुरा सायद त्यतिबेला अनु आफैँले पनि कल्पना गरेकी थिइनन्।
सन् २०१७ मा अनु गुरुङ दम्पतीले एक विदेशी साथीसँग मिलेर पोर्तुगलको कास्तेलो ब्राङ्कोमा Yokozo Sushi Lounge नामको सुसी रेस्टुरेन्ट सुरु गरे। श्रीमान्को पाककलाको सीप, अनुको व्यवस्थापन क्षमता र दुवैको अथक मेहनतले रेस्टुरेन्ट राम्रो चल्न थाल्यो। त्यहाँ कोभिल्हाबाट समेत ग्राहक आउँथे। केही ग्राहकले कोभिल्हामा पनि सुसी रेस्टुरेन्ट खोल्न सुझाव दिए। ग्राहकलाई देवतासरह सम्मान गर्ने अनु दम्पतीले त्यो सुझावलाई अवसरका रूपमा लिए र कोभिल्हामा पनि Yokozo Sushi Lounge खोले। त्यहाँ पनि व्यवसाय राम्रो चल्यो। त्यसपछि ग्वार्दामा पनि रेस्टुरेन्ट खोले। यस पंक्तिकारको अनु गुरुङसँग परिचय सन् २०१९ मा युरोप चौतारी फेसबुक पेजमार्फत भएको हो। त्यतिबेला उहाँले सम्पर्क गरेर भन्नुभएको थियो, “काम गर्ने कोही मानिस छन् भने पठाइदिनुस् न।” संयोगवश बेलारुस हुँदै कठिन यात्रा पार गरेर पोर्तुगल आइपुग्नुभएका धादिङका एक दाजु र अन्य तीन जना नेपाली कामको खोजीमा हुनुहुन्थ्यो। हामीले उहाँहरूलाई अनु गुरुङको रेस्टुरेन्टमा पठाइदियौँ। मलाई आज पनि सम्झना छ, त्यतिबेला कामको अनुभव नभएकाहरूलाई पनि आधारभूत तलब र बस्ने कोठाको व्यवस्था गरिएको थियो। बेलारुसबाट आउनुभएका ती दाजु सेफको काम जान्ने भएकाले उहाँलाई मासिक १,३०० युरो तलब र बस्ने सुविधा दिइएको थियो। त्यो सन् २०१९ को कुरा हो। त्यसपछि पनि अनु दम्पतीले धेरै नेपालीलाई रोजगारी र अन्य सहयोग गरेको यस पंक्तिकारले नजिकबाट देखेको छ। पछि विशेष कारणले ग्वार्दाको रेस्टुरेन्ट बन्द गर्नुपर्‍यो, तर उनीहरूको व्यवसाय विस्तार गर्ने यात्रा रोकिएन। आज कास्तेलो ब्राङ्को, कोभिल्हा, भिजेऊ र गिमाराइँसमा उनीहरूको रेस्टुरेन्ट व्यवसाय फैलिएको छ। यसबाहेक अनु गुरुङले आफ्नै नेतृत्व र व्यवस्थापनमा Mandala Sushi नामको अर्को रेस्टुरेन्ट पनि सञ्चालन गरेकी छन्। यो रेस्टुरेन्ट उनले श्रीमान्को प्रत्यक्ष सहयोगमा निर्भर नभई आफैँ सम्हाल्दै आएकी छन्। उनी केवल सफल सेफकी श्रीमती होइनन्, आफैँमा सक्षम व्यवस्थापक, साहसी निर्णयकर्ता र सफल नेपाली महिला उद्यमी हुन्। आज उनीहरूका पाँच रेस्टुरेन्टमा ५४ जनाले रोजगारी पाएका छन्। ५४ जना भनेको मात्र संख्या होइन, ती कर्मचारीसँग जोडिएका परिवार, जिम्मेवारी, बालबालिकाको भविष्य र जीवनका सपना पनि हुन्। कुनै बेला आफैँ काम खोज्दै हिँडेकी अनु आज अरूलाई काम दिने अवस्थामा पुगेकी छन्। आफू सफल हुनु एउटा उपलब्धि हो, तर आफ्नो सफलतासँगै अरूका घरमा पनि चुलो बाल्ने अवसर सिर्जना गर्नु अझ ठूलो उपलब्धि हो।
अनु गुरुङको जीवनमा आज आर्थिक सम्पन्नता र सुविधासम्पन्न जीवनशैली पनि जोडिएको छ। दुई सन्तानसहित उनको परिवार पोर्तुगलको सुन्दर पहाडी सहर कोभिल्हामा बस्दै आएको छ। त्यहाँ उनीहरूले भव्य आवासीय घर खरिद गरेका छन्। मेहनत गर्न जति रुचाउने अनु राम्रो घर र सवारीसाधनप्रति पनि उत्तिकै सौखिन छिन्। केही महिनाअघि उनले विश्वप्रसिद्ध जर्मन कार निर्माता Porsche को अत्याधुनिक विद्युतीय स्पोर्ट्स कार Porsche Taycan Turbo S खरिद गरेकी छन् र आफैँ चलाउँछिन्। एकपटक कल्पना गरौँ त—सन् २०११ मा लिस्बनको चिनियाँ रेस्टुरेन्टमा दैनिक १२ घण्टा काम गरेर महिनाको ४०० युरो कमाउने एउटी नेपाली युवती, अनि सन् २०२६ मा पाँच रेस्टुरेन्ट सञ्चालन गर्दै Porsche Taycan Turbo S को स्टेयरिङ समातेर पोर्तुगलका सडकमा यात्रा गरिरहेकी तिनै अनु गुरुङ! कति ठूलो परिवर्तन! तर यो परिवर्तन कुनै चमत्कारले आएको होइन। यसको पछाडि १५ वर्षको परिश्रम, धैर्य, जोखिम, पारिवारिक एकता र हार नमान्ने आत्मविश्वास छ। उनका रेस्टुरेन्टहरूले विभिन्न पुरस्कार र सम्मान पनि प्राप्त गरेका छन्। अनुका अनुसार पोर्तुगलको प्रमुख खाद्य तथा रेस्टुरेन्ट आपूर्ति कम्पनी Recheio ले गत वर्ष उनीहरूको व्यवसायलाई उत्कृष्ट खरिदकर्ता अर्थात् Best Buyer का रूपमा सम्मान गर्दै अमेरिकाको भ्रमण पुरस्कार दिएको थियो। यस वर्ष विश्वकपको टिकटसमेत उपलब्ध गराएको र यसबाहेक अन्य धेरै पुरस्कार तथा उपहार प्राप्त भएको उनी बताउँछिन्। अनुजीलाई मैले सोधेँ, “यो सफलता कसरी प्राप्त गर्नुभयो?” उनको जवाफ सरल थियो, “हामी श्रीमान्–श्रीमती दुवै खट्छौँ। उहाँ एकदम राम्रो सेफ हुनुहुन्छ। परिवारमा श्रीमान्–श्रीमती मिलेर आफूले जानेको व्यवसाय गरियो, मेहनत गरियो भने असफल भइँदैन भन्ने मलाई लाग्छ।” उनको विश्वास छ—मेहनत, संघर्ष र सत्कर्म गरियो भने सफलता पाइन्छ। तर मलाई उनको सफलताको सबैभन्दा सुन्दर पक्ष अर्को लाग्छ। सन् २०११ मा ४०० युरो तलबमा दैनिक १२ घण्टा काम गर्दा पर्याप्त सेवा सुविधा नपाएको पीडा उनले आज पनि बिर्सेकी छैनन्। त्यसैले आफ्ना कर्मचारीको तलब र सुविधामा विशेष ध्यान दिने गरेको बताउँछिन्। उनका अनुसार अहिले कर्मचारीले जिम्मेवारी र कामअनुसार मासिक करिब १,००० देखि १,९०० युरोसम्म तलब पाउँछन्। महँगो गाडी चढ्नु आर्थिक सम्पन्नताको प्रतीक हुन सक्छ, तर आफ्नो विगत सम्झेर अरूको श्रमको मूल्य बुझ्नु मानवीय संवेदनाको परिचय हो। अनु गुरुङको व्यक्तित्वमा यी दुवै पक्ष भेटिन्छन्। Porsche Taycan Turbo S उनको सफलताको एउटा सुन्दर प्रतीक हो, तर ५४ जनालाई रोजगारी दिन सक्ने उद्यम निर्माण गर्नु उनको अझ अर्थपूर्ण उपलब्धि हो।
सन् २०११ मा पोर्तुगल आउँदा अनु गुरुङको योजना यहाँ सधैँ बस्ने थिएन। पोर्तुगलमा आवासीय कार्ड बनाउने, पछि नागरिकता र रातो पासपोर्ट प्राप्त गर्ने अनि अर्को युरोपेली देश जाने सोच थियो। तर जीवनले अर्कै मोड लियो। यही पोर्तुगलमा संघर्ष गरिन्, यहीँ व्यवसाय सुरु गरिन्, यहीँ परिवार स्थापित भयो, दुई सन्तान हुर्किरहेका छन्, यहीँ आफ्नै घर बन्यो र यहीँ उनको मन बस्यो। आज पोर्तुगलको मुख्यभूमिको सर्वोच्च पर्वतीय क्षेत्र सेरा दा एस्ट्रेलाको काखमा रहेको कोभिल्हा सहरसँग उनको यति गहिरो आत्मीयता छ कि त्यो ठाउँ छोडेर अन्त जान मन छैन। उनी भन्छिन्, “म सन् २०११ मा पोर्तुगल आउँदा यहाँको रातो पासपोर्ट लिएर अन्तै जान्छु भन्ने सोच थियो। तर अहिले त कोभिल्हा छोडेर कतै जान मन लाग्दैन। अब यहीँ बस्ने हो।” पोर्तुगलका कुनै नेपाली संघसंस्थाको पदमा उनी छैनन्। उनी भन्छिन्, “हामी विदेशमा बस्ने सबै नेपाली एउटै परिवार हौँ। म सबैलाई सम्मान गर्छु। संघसंस्थाका बारेमा मलाई धेरै थाहा छैन।” तर समुदायप्रतिको उनको भावना पद र संस्थाको सीमाभन्दा बाहिर छ। भोलिका दिनमा पोर्तुगलमा नेपाली हाउस खोल्नुपरे वा कुनै परोपकारी काम गर्नुपरे आफू पनि सहयोगको हात बढाउने उनको इच्छा छ। अनु गुरुङको कथा लेखिरहँदा मलाई सन् २०१९ को त्यो अनुरोध फेरि सम्झना आउँछ—“काम गर्ने कोही छन् भने पठाइदिनुस् न।” सन् २०११ मा आफैँ काम खोज्दै हिँडेकी महिला सन् २०१९ मा अरूलाई काम दिन थालिन् र सन् २०२६ मा ५४ जनाको रोजगारीसँग जोडिएको व्यवसाय सञ्चालन गरिरहेकी छन्। यो कुनै आर्थिक उन्नतिको कथा होइन, कामदारबाट रोजगारदाता बन्ने यात्राको कथा हो। यो नेपाली महिलाको साहस, स्वाभिमान, आत्मनिर्भरता र पारिवारिक सहकार्यको कथा हो। पोर्तुगलमा रेस्टुरेन्ट, होटल, कृषि, निर्माण वा सरसफाइको काम गरिरहेका हजारौँ नेपालीले अनु गुरुङको जीवनबाट प्रेरणा लिन सक्छन्। सबैले पाँच रेस्टुरेन्ट खोल्नैपर्छ भन्ने छैन, सबैले Porsche चलाउनैपर्छ भन्ने पनि छैन। तर आफ्नो कामलाई सम्मान गर्ने, सीप सिक्ने, अवसर चिन्ने, परिवारसँग मिलेर अगाडि बढ्ने र संघर्षका दिन नबिर्सने शिक्षा भने सबैका लागि उपयोगी छ। आदरणीय नेपाली चेली अनु गुरुङजी, तपाईंको सफलताका लागि हार्दिक बधाई। तपाईंको भव्य घर, पाँच रेस्टुरेन्ट र Porsche Taycan Turbo S देखेर मानिसहरू प्रभावित होलान्, तर तपाईंको जीवनको वास्तविक मूल्य बुझ्नेहरूले तपाईंको परिश्रम, विनम्रता र अरूका लागि रोजगारीको अवसर सिर्जना गर्ने क्षमतालाई अझ बढी सम्मान गर्नेछन्। तपाईंको संघर्षले पोर्तुगलमा मात्र होइन, युरोपभरि मेहनत गरिरहेका नेपालीलाई आशा र आत्मविश्वास प्रदान गरोस्। पोखराको रानीपौवाबाट सुरु भएको तपाईंको यात्रा अझ उचाइमा पुगोस्। तपाईंका व्यवसाय अझ फस्टाऊन्, अझ धेरै मानिसले रोजगारी पाऊन् र तपाईंको सफलता नेपाली समाजका लागि प्रेरणा बनिरहोस्। किनकि ४०० युरोको तलबबाट Porsche Taycan Turbo S को स्टेयरिङसम्म पुग्नु ठूलो उपलब्धि हो, तर आफू सफल हुँदै गर्दा अरू ५४ जनाका लागि रोजगारीको बाटो खोल्नु त्योभन्दा पनि अर्थपूर्ण सफलता हो। संघर्षले खारिएकी, परिश्रमले निखारिएकी र सफलताले पनि विनम्रता नखोसेकी अनु गुरुङको जीवनयात्रालाई सलाम!
युरोप चौतारी, पोर्तुगल विशेष व्यक्तित्व तथा प्रेरणादायी सफलता कथा — अक्टोबर २०२६

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *