पोर्चुगलमा एक दशकः भित्रिए २७ हजार नेपाली

पोर्चुगल । पोर्चुगलमा एक दशकमा करिब २७ हजार नेपाली भित्रिएका छन् । बैंक अफ पोर्चुगल (बिडीपी) को सन् २०२४ जुन महिनामा प्रकाशित आर्थिक बुलेटिन अनुसार एक दशक अवधिमा २६ हजार ९ सय नेपाली पोर्चुगल भित्रिएका हुन् ।

पोर्चुगल आउने सबै आप्रवासी यहाँको सामाजिक सुरक्षामा अनिवार्य सामेल हुन्छन् । सोसल सेगुरान्सा कार्यालयलाई उद्धृत गर्दै आर्थिक बुलेटिनमा सबैभन्दा धेरै भित्रिने आप्रवासीमध्ये नेपाल तेस्रो स्थानमा पर्छ । त्यसोतः पोर्चुगलले अगस्ट ३ तारिखदेखि आप्रवासी आउन प्रतिबन्ध लगाएको छ । सोसल सेगुरान्सामा समावेश हुने प्रक्रिया बन्द भएपछि आप्रवासी आउने क्रम रोकिएको छ ।

आर्थिक बुलेटिन अनुसार सन् २०२३ सम्म ४ लाख ९५ हजार २ सय आप्रवासी भित्रिएका छन् । सन् २०१४ मा आप्रवासीको संख्या ५५ हजार ६ सय मात्रै थियो ।  अन्य देशको तुलनामा यहाँको अस्थायी तथा स्थायी बसोबास कार्ड सजिलैसँग पाइने भएकाले धेरै आप्रवासीको रोजाइ पोर्चुगल हुँदै आएको थियो ।

कमाइका हिसाबले आकर्षक मुलुकबाट धेरै आप्रवासी धेरै खर्च गरेर अवैधानिक बाटोबाट समेत पोर्चुगल भित्रिने गरेका थिए । माल्टा, साइप्रस, रोमानिया, टर्की लगायतबाट राम्रो कमाइ छोडेर पोर्चुगलमा धेरै आप्रवासीहरु ओइरिने गरेका थिए ।

तर, सन् २०२४ जुन ३ तारिखदेखि पोर्चुगलले नयाँ आउने आप्रवासीलाई प्रतिबन्ध लगाएपछि विभिन्न भिसामा आएर यतै काम काम गर्ने मनिस्थिति बनाएका आप्रावासीलाई धक्का लागेको छ । सोसल सेगुरान्साको सिष्टम नै खारेज गरेपछि पोर्चुगल आउने धेरै आप्रवासी अन्यत्रै मोडिएका छन् ।

२०१४ अघि १५ हजार नेपाली भित्रिएको तथ्यांक सार्वजनिक भएको थियो । त्यसमध्ये लगभग धेरैजसो पोर्चुगल छाडिसकेका छन् । धेरैको आप्रवासीको गन्तव्य यहाँको नागरिकता र राहदानी प्राप्त गर्ने हुन्छ । त्यसपछि अन्य देश जाने र कमाउने अधिकांश नेपालीसहित आप्रवासीको सपना हुन्छ ।

यहाँबाट सन् २०२३ सम्म करिब १५ हजारले राहदानी पाएर विभिन्न देश पुगेको जानकारहरु बताउँछन् । उनीहरुको रोजाइ डेनमार्क, जर्मन, बेल्जियम, बेलायत लगायत यूरोपियन देश हुने गर्छ । पोर्चुगलको तुलनामा यूरोपका अन्य देशमा आकर्षक कमाइ हुन्छ । अनौपचारिकरुपमा करिब ६० हजार नेपाली पोर्चुगलमा छन् भनिए पनि यहाँको आधिकारिक तथ्यांक अनुसार २७ हजार नेपाली रहेको पाइएको छ ।

४२ प्रतिशत श्रमिक ब्राजिलियन

आर्थिक बुलेटिनको तथ्यांक अनुसार सबैभन्दा धेरै आप्रवासी भित्रिने मुलुकमा ब्राजिल पर्छ । २ लाख ९ हजार ४ सय ब्राजिलियन पोर्चुगलमा काम गर्छन् । आप्रवासी श्रमिकमा ब्राजिलियनले ४२.३ प्रतिशत हिस्सा ओगट्छन् ।
त्यस्तै दोस्रो नम्बरमा इन्डियनहरु पोर्चुगलमा काम गर्छन् । आप्रवासी क्षेत्रमा उनीहरुको हिस्सा २२.१ प्रतिशत छ ।

उनीहरुको संख्या ४१ हजार छ । चौथोमा काबो भेर्डेना र पाँचौमा बंगाली छन् । तथ्यांक अनुसार काबो भेर्डेना २२ हजार ७ सय र बंगाली १८ हजार ८ सय जना श्रमिक पोर्चुगलमा काम गर्छन् ।

केमा छ रोजगारीका अवसर ?

पोर्चुगलमा धेरै रोजगारी सिर्जना हुने क्षेत्र सेवा क्षेत्र हो । होटल, रेष्टुरेष्टमा धेरै विदेशी श्रमिक भेटिन्छन् ।  आर्थिक बुलेटिनको तथ्यांक अनुसार प्रशासनिक गतिविधि, आवास, खानपान र निर्माण क्षेत्रका कम्पनीमा लगभग आधा विदेशी श्रमिक काम गर्छन् ।

त्यस्तै कृषि र माछा कम्पनीमा पनि उल्लेख्य मात्रामा विदेशी श्रमिक काम गर्छन् । कृषि र माछा मार्ने कम्पनीमा हरेक दस कर्मचारीमा चार जनाले सन् २०२३ मा विेदशीले यहाँको नागरिकता पाएका छन् ।

के सिधैं आउन पाउँछन् श्रमिक ?

पोर्चुगलले युरोपियन मुलुकको जुनसुकै देशका, जुनसुकै भिसामा आएकालाई सहजै सोसल सेगुरान्सामा दर्ता गरेर काम गर्ने अवसर दिदैँ आएको थियो । अब त्यो प्रक्रिया बन्द भएको छ । अब उक्त प्रक्रियामै फर्किने संभावना पनि निकै कम हुँदै गएको पोर्चुगलका अधिकारीहरु बताउँछन् ।

पर्यटक भिसा भएको विदेशीले पोर्चुगलमा आफ्नो स्थिति नियमित गर्न अब सम्भव नहुने आर्थिक बुलेटिनमा समेत उल्लेख गरिएको छ । अब पोर्चुगलले स्रोतमुलुकसाग रोजगारी सम्झौता गरी श्रमिक ल्याउने छ । अथवा पोर्चुगल कन्सुलर नेटवर्कमा पहिले व्यवहार गरिएको अर्को प्रक्रियाबाट समेत श्रमिक भित्र्याउन सक्छ ।

तर, यहाँका रोजगारदाता कम्पनी सक्षम र सबल नभएकाले उक्त प्रक्रियामा सामेल हुन पनि कठिनाइ देखिएको जानकारहरु बताउँछन् । यसअघि कृषि क्षेत्रमा सिधैं आप्रवासी ल्याउने व्यवस्था छ । तर प्रक्रिया सहज र व्यवस्थित हुन सकेको देखिदैँन ।

रोजगारी सिर्जना चुनौती

पोर्चुगलमा रोजगारी सिर्जना गर्न चुनौती देखिएको छ । जसले गर्दा श्रमिकले काम नपाउने समस्या निकै बढेको छ । रोजगारी सिर्जनाको तुलनामा आप्रवासी श्रमिक धेरे हुने भएकाले काम पाउन पनि कठिनाइ भएको, लामो समयसम्म बेरोजगार बस्नुपरेको, अर्धबेरोजगार भएर लामो समय काम गर्नुपर्ने वाध्यता रहेको जानकारहरु बताउँछन् ।

काम पाउन कठिनाइ भएको पोर्चुगल सरकारले पनि मनन गरेको छ । आप्रवासीको रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले केही उपायहरू ल्याउन लागेको जनाएको छ । श्रम, एकता र सामाजिक सुरक्षा मन्त्री मारिया डो रोजारियो पाल्मा रामाल्होले काम पाउन नसकेका वा आफ्नो रोजगारी सम्बन्ध गुमाएका आप्रवासीहरूको एकीकरणलाई सुदृढ गर्न रोजगार तथा व्यावसायिक तालिम संस्थानसँग समन्वय गरी साझेदारहरूको सञ्जाल निर्माण गर्न सरकार अगाडि बढेको बताउनुभयो ।

मन्त्रिपरिषद् पछिको पत्रकार सम्मेलनमा बोल्दै रामाल्होले देशमा बेरोजगारी दर ६.१ प्रतिशत रहेको बताउनुभयो ।  रोजगारी केन्द्रहरूमार्फत रोजगारी सिर्जनालाई सहज गर्ने सरकारको तयारी छ । केन्द्रमा बेरोजगारको रूपमा दर्ता भएका वा जागिर खोजिरहेका आप्रवासीहरूलाई शिक्षकद्वारा प्रदान गरिएको व्यक्तिगत समर्थन, प्रशिक्षण र पोर्तुगाली भाषा पाठ्यक्रम दिएर दक्ष बनाउन लागिएको बताइएको छ ।

यसबाहेक, दूतावासहरूमा सहचारीहरूको संख्यामा पनि बृद्धि गरिएको छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *