पोर्चुगल । विदेशमा पत्रकारिता गर्न सहज छैन । भाषा, भेषभुषा मिल्दैन । नेपालमा अब्बलरुपमा कलम चलाएका जोकोही पनि विदेशमा सुरुमा अलमलमै पर्छन् । परिवेश बदलिदाँ बित्तिकै समाचारको कोण, समाचारको स्रोत, पाठक सबै बदलिन्छन् ।
विदेशमा पत्रकारिता मुख्य पेशाका रुपमा हुन अझ कठिन जस्तै छ । आम्दानीको गतिलो स्रोत अर्को कुनै नभई पत्रकारितता गर्छु भन्नु मुर्खताबाहेक केही पनि हुँदैन ।
तर, पछिल्लो समयमा विदेशमा बसेर पनि पत्रकारिता गर्नेहरुको जमात बढ्दै गइरहेको छ । स्वदेशमा पत्रकारिताबाट निर्वाहमुखी गुजरा मात्र भएपछि विदेशलाई कर्मथलो बनाउने पत्रकारहरु पनि बढेका छन् ।
विदेशमा अरु पेशासँगै पत्रकारितामा खरोरुपमा कलम चलाउने पत्रकार पनि छन् । त्यसमध्येका एक पर्नुहुन्छ । नेपाल पत्रकार महासंघ यूरोप शाखाका नवनिर्वाचित अध्यक्ष केजिन राई ।
केजिन राई यूरोपको अब्बल पत्रकार मानिनुहुन्छ । सबैलाई मिलाएर लैजान सक्ने खुवी उहाँसँग छ । पत्रकार महासंघमा उहाँ चौथो पटक निर्वाचित हुनुभएको हो ।
बेल्जियमनिवासी राई नेपाल पत्रकार महासंघ युरोप शाखाले आधिकारिक मान्यता पाउन निकै कठिन भएको सम्झनुहुन्छ । विदेशमा पत्रकारितामा गुजारा चल्नै कठिन हुने भएकाले अर्को पेशा गर्नु अनिवार्य जस्तै भएको उहाँ सम्झीनुहुनछ । राई पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि अब्बल हुनुहुन्छ । पत्रकारितालाई उहाँले समाजसेवाकोको रुपमा हेर्नुभएको छ ।
खोटाङ बसेर लामो समय पत्रकारिता गर्नुभयो । सम्पादनका क्षेत्रमा समेत काम गर्नुभयो । २०४६ मा काठमाडौंमा खेलकुद्, अर्थ, अपराध, राजनीतिलगायतका क्षेत्रमा सशक्त ढंगले कलम चलाएको उहाँ सम्झनुहुन्छ ।
बुवा प्रधानपञ्चबाट अभिप्रेरित हुनुभएका राई सानैमा लेखनी अब्बल हुँदै जानुभएको थियो । बुवालाई लेखनीमा सहयोग गर्दा गर्दा साहित्यिक क्षेत्रमा राम्रो लेख्न सक्ने भइसक्नुभएका राई त्यसले पत्रकारितामा पनि राम्रै सहयोग गरेको बताउनुहुन्छ ।