लिजवन पोर्तुगल का बासिन्दाहरूको माग — सडकमा मदिरा सेवन पूर्ण रूपमा प्रतिबन्ध गर्नुपर्ने

पोर्तुगलको राजधानी लिजवनमा रातिको अत्यधिक होहल्ला, असुरक्षा तथा सार्वजनिक अव्यवस्थालाई नियन्त्रण गर्न नगरपालिकाले केही महिनाअघि नयाँ नियम लागू गरेको थियो। उक्त नियमअनुसार अब राति ११ बजेपछि (आइतबारदेखि बिहीबारसम्म) तथा शुक्रबार, शनिबार र सार्वजनिक बिदाको अघिल्लो दिन मध्यरातपछि पसलबाट बाहिर सेवन गर्ने उद्देश्यले मदिरा बिक्री गर्न रोक लगाइएको छ। यो नियम फेब्रुअरी १४ देखि लागू भएको हो।
तर, लिजवनका विभिन्न क्षेत्रका १९ वटा बासिन्दा संघहरू सम्मिलित “Lisbon Platform – Our Voices” ले भने यो कदम पर्याप्त नभएको बताएका छन्। उनीहरूका अनुसार अहिलेको नियम “अत्यन्त कमजोर र समस्याको वास्तविक गम्भीरताअनुसार अपर्याप्त” छ।
विशेषगरी पर्यटन र नाइट लाइफ बढी हुने क्षेत्रमा सडकमा खुला रूपमा मदिरा सेवन गरिने भएकाले रातिको होहल्ला, झगडा, सार्वजनिक अव्यवस्था तथा बासिन्दाको दैनिक जीवनमा ठूलो असर परेको उनीहरूको गुनासो छ। त्यसैले अब बार्सिलोना, म्याड्रिड, एम्स्टर्डम, बर्लिनजस्ता युरोपेली सहरहरूमा जस्तै लिजवनमा पनि सार्वजनिक सडकमा मदिरा सेवन पूर्ण रूपमा प्रतिबन्ध गर्नुपर्ने माग उठाइएको छ।
बासिन्दाहरूका अनुसार यसले वैधानिक रूपमा सञ्चालन भएका व्यवसायहरूलाई पनि फाइदा पुग्नेछ, किनकि मदिरा सेवन पुनः होटल, बार तथा रेस्टुरेन्टभित्र सीमित हुनेछ। साथै अवैध सडक व्यापार, नाबालकद्वारा मदिरा सेवन तथा रातिको असुरक्षाजस्ता समस्या पनि घट्ने विश्वास गरिएको छ।
उनीहरूले चेतावनी दिँदै भनेका छन् कि यदि सडकमा मदिरा सेवन रोकिएन भने “अल्कोहोल पर्यटन” को प्रभावले स्थानीय बासिन्दा विस्थापित हुने, सार्वजनिक स्थानहरू बिग्रिने तथा आवासीय क्षेत्रहरूको शान्त वातावरण पूर्ण रूपमा नष्ट हुने खतरा अझ बढ्नेछ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *