पोर्तुगलको राजधानी लिजवनमा बस्ने मेरा एक छिमेकी छन्, ५४ वर्षीय Eleutério (एलेउतेरियो)। उनीसँग मेरो देखादेख हुन थालेको सन् २०१४ देखि नै हो, तर हाम्रो राम्रो चिनजान र कुराकानी भने सन् २०१७ बाट सुरु भएको हो। उनी आर्थिक रूपमा सम्पन्न छन्। बिहान सबेरै नजिकैको क्याफेमा जाने, एक कप कफी मगाउने र पहिले Correio da Manhã पत्रिका पढ्दै बिहानको समय बिताउने उनको पुरानो दैनिकी हो। उनको पुर्ख्यौली घर पोर्तुगलको उत्तरपूर्वी जिल्ला ब्रागान्सामा पर्छ, जुन लिजवनबाट निकै टाढा छ। उनका बुवा उच्च सरकारी अधिकारी थिए। बुवाले राजधानी लिजवनमा घर किनेपछि उनी पनि बुवासँगै लिजवन आएका रहेछन्। उनीसँग महँगा र विलासी गाडीहरू छन्। गाउँमा दुईवटा घोडा र केही अन्य पशुपन्छी पनि पालेका छन्। उनका दुई सन्तान छन्। एकजना पोर्तुगलको सेनामा कार्यरत छन् भने अर्का सन्तान डाक्टरी पढ्दै छन्। सम्पन्नता छ, सम्पत्ति छ, सुविधा छ, तर उनको जीवनमा एउटा अनौठो एक्लोपन पनि छ। उनी प्रायः एक्लै बस्छन्। सन् २०१७ देखि चिनजान भएर आजसम्म आइपुग्दा उनीसँग मेरो एउटा फोटोसमेत छैन। उनले पनि आजसम्म कुनै सामाजिक सञ्जालमा आफ्नो फोटो राखेका छैनन्। अझ अचम्मको कुरा त के छ भने ५४ वर्षको उमेरसम्म उनले जीवनमा एकपटक पनि हवाईजहाज चढेका छैनन्। युरोपका प्रायः सबैजसो देश उनी आफ्नै गाडी चलाएर घुमिसकेका छन्। तर जहाज भने कहिल्यै चढेनन्। मैले धेरैपटक सोधेको छु, “Eleutério, तिमीले आजसम्म जहाज किन नचढेको ?” उनी हल्का मुस्कुराउँछन् र भन्छन्, “कुनै दिन तिमीलाई यसको कहानी सुनाउँला।” त्यसपछि फेरि प्रसङ्ग बदलिन्छ। उनको त्यो रहस्य आजसम्म मैले बुझ्न सकेको छैन।
Eleutério को जीवनमा अर्को एउटा अनौठो र मलाई अत्यन्तै मन छुने बानी छ। उनी कहिलेकाहीँ लिजवनबाट अलि टाढा सोब्राल (Sobral) गाउँ पुग्छन्। त्यहाँ उनका ६९ वर्षीय साथी Manuel Visto (मनुयल विस्टो) छन्। उनीसँग घण्टौँ बसेर कुरा गर्छन्, सँगै खाना खान्छन्, गाउँघरका कुरा सुन्छन्, आफ्ना मनका कुरा सुनाउँछन्। अनि फर्किने बेलामा सधैँ २० युरो दिएर बिदा हुन्छन्। फेरि अर्को हप्ता आरुदा दोस भिन्योस (Arruda dos Vinhos) गाउँ पुग्छन्। त्यहाँ उनका ६५/६६ वर्षीय साथी Sebastião (सेबास्तियाउँ) छन्। उनीसँग पनि त्यसरी नै घण्टौँ गफिन्छन्, खानपिन गर्छन् र फर्किने बेलामा २० युरो दिन्छन्। कहिले लौरेस (Loures) पुग्छन्। त्यहाँ ७७ वर्षीय Fábio Vaz (फावियो वाज) छन्। उनीसँग पनि उस्तै आत्मीयता, उस्तै भेटघाट, उस्तै कुराकानी र बिदाइका बेला उही २० युरो। मैले एकदिन उनलाई सोधेँ, “Eleutério, तिम्रा साथीहरू त सबै तिमीभन्दा निकै पाका उमेरका रहेछन्। तिम्रो आफ्नै उमेरका साथीहरू छैनन् ? अरू साथीहरू छैनन् ?” मेरो प्रश्न सुनेपछि उनी केहीबेर गम्भीर भए। अनि आफ्नो विगतको कथा सुनाउन थाले। “हेर, मेरा बुवा हुँदासम्म क्रिसमसमा हाम्रो घरमा ४०/५० जना मानिस आउँथे। बुवा जागिरमा हुँदा त कहिलेकाहीँ १००/१२० जनासम्म आउँथे। घरमा मान्छेको भीड हुन्थ्यो। चहलपहल हुन्थ्यो। हाँसो, रमाइलो, खानपिन र भेटघाटले घर भरिएको हुन्थ्यो। मेरा पनि यहाँ धेरै साथी थिए। गाउँबाट आउने साथीहरू थिए। आफन्त थिए। चिनजानका मानिस थिए। मलाई लाग्थ्यो, मेरो संसार नै साथीहरूले भरिएको छ। तर बिस्तारै मैले मानिसहरूलाई बुझ्दै गएँ। तीमध्ये धेरैजना साथीभन्दा पनि स्वार्थका कारण नजिकिएका मानिस रहेछन्। बुवा हुनुहुन्थ्यो, उहाँको पद थियो, प्रतिष्ठा थियो, पहुँच थियो, त्यसैले मानिसहरू थिए। समय फेरियो, परिस्थिति फेरियो, मानिसहरू पनि फेरिए। अहिले तीमध्ये कोही मेरो साथमा छैनन्। कोही चाहेर पनि साथमा हुन सक्दैनन्। उनीहरूका आफ्नै परिवार छन्, आफ्नै संसार छ, आफ्नै व्यस्तता छ। अनि म पनि आफ्नै संसारमा एक्लो छु।”
उनले अगाडि भने, “त्यसैले म हप्ता, पन्ध्र दिनमा यिनै तीनजना पाका साथीहरूलाई भेट्न जान्छु। उनीहरूलाई आफ्ना कुरा सुनाउँछु। मनका पीडा सुनाउँछु। गुनासा सुनाउँछु। कहिलेकाहीँ बिनाकारण घण्टौँ बोलिरहन्छु। उनीहरू चुपचाप सुनिरहन्छन्। तिमीलाई थाहा छ, यो संसारमा आफ्नो कुरा सुनिदिने मानिस पाउनु पनि कति ठूलो सौभाग्य रहेछ ? म जस्तो एकलकाटे मानिसका लागि त त्यो झन् ठूलो राहत हो। उनीहरूले मलाई कुनै सल्लाह दिनैपर्छ भन्ने छैन। मेरो समस्याको समाधान निकाल्नैपर्छ भन्ने पनि छैन। उनीहरूले मेरा कुरा सुनिदिए पुग्छ। म हलुका हुन्छु। उनीहरूलाई मबाट कुनै ठूलो अपेक्षा छैन। भेट्दा एउटा अल्मोसो अर्थात् दिवा भोजन र फर्किने बेलामा २० युरो, बस् त्यत्ति हो। तर ती केही घण्टा मेरा लागि पैसाले किन्न नसकिने समय हुन्। कहिले गाउँमै फलेका मोराङ्गेइरो अर्थात् स्ट्रबेरी खाँदै, कहिले साग्रेस बियर पिउँदै, कहिलेकाहीँ चुरोटमा मारिजुआना मिसाएर धुवाँ उडाउँदै हामी घण्टौँ गफिन्छौँ। गाउँको शान्त वातावरण, खुला आकाश, बुढ्यौलीले खारिएका उनीहरूका अनुभव र मेरा मनभित्र थुप्रिएका कुराहरू ! आहा, त्यो क्षणमा मलाई कति आनन्द आउँछ, तिमी कल्पना पनि गर्न सक्दैनौ। उनीहरू मेरा लागि केवल वृद्ध मानिस होइनन्, मेरा परिपक्व साथी हुन्। मेरो कथा सुनिदिने, व्यथा बुझिदिने, गुनासा सुनिदिने र म जस्तो एक्लो मानिसलाई केही घण्टाका लागि भए पनि एक्लोपन बिर्साइदिने साथी हुन्। उनीहरूसँग मेरो कुनै व्यापारिक प्रतिस्पर्धा छैन। सम्पत्तिको तुलना छैन। को ठूलो, को सानो भन्ने अहङ्कार छैन। कसले कति कमायो, कसले कस्तो गाडी चढ्यो, कसको घर कति ठूलो छ भन्ने होडबाजी छैन। न उनीहरूलाई मसँग केही जित्नु छ, न मलाई उनीहरूसँग केही प्रमाणित गर्नु छ। बस्, उनीहरू सुन्छन्, म बोल्छु। कहिले उनीहरू बोल्छन्, म सुन्छु। हामी हाँस्छौँ, रमाउँछौँ। जीवनका बाँकी दिनहरूमा मलाई चाहिएको मित्रता सायद यही हो।”
उनका कुरा सुन्दै गर्दा म पनि आफ्नै विगततिर फर्किएँ। त्यत्तिकैमा Eleutério ले उल्टै मलाई प्रश्न गरे, “अब तिमी आफैँ भन त ! तिमी सन् २०१४ मा पोर्तुगल आयौ। हाम्रो राम्रो चिनजान सन् २०१७ देखि भयो। त्यसयता तिमीले मलाई हरेक महिना कोही न कोही नयाँ मानिससँग परिचय गराउँथ्यौ। ‘यो मेरो साथी हो, यो मेरो Amigo de Coração अर्थात् मुटुको साथी हो’ भन्थ्यौ। तिमीले कति धेरै मानिसलाई आफ्नो अत्यन्तै नजिकको साथी भनेर चिनायौ। अहिले खै त ती साथीहरू ? आज तिम्रो साथमा कति जना छन् ?” उनको प्रश्नले मलाई एकछिन निःशब्द बनायो। मैले तत्काल कुनै उत्तर दिन सकिनँ। उनी आफैँ बोल्न थाले, “छैनन् नि, होइन ? किनभने उनीहरू पनि जीवनको दौडमा थिए। सबैका आफ्नै लक्ष्य थिए, आफ्नै आवश्यकता थिए, आफ्नै गन्तव्य थिए। त्यो दौडमा तिमी उनीहरूका लागि बाटोको एउटा चौतारीजस्तै भयौ। केहीबेर त्यहाँ बसे, थकाइ मारे, आफ्ना कुरा गरे, तिम्रा कुरा सुने, अनि फेरि आफ्नो गन्तव्यतिर लागे। अहिले उनीहरू तिम्रा लागि बिराना भए, तिमी उनीहरूका लागि बिराना भयौ। यसको अर्थ सबै खराब थिए भन्ने होइन। जीवनको यात्रा नै त्यस्तै रहेछ। सबै यात्रु सधैँ एउटै चौतारीमा बसिरहँदैनन्। सबैसँग सुरु भएको मित्रता अन्तिमसम्म पुग्दैन। कतिपय मानिस आवश्यकता रहुन्जेल नजिक हुन्छन्, कतिपय परिस्थितिले टाढिन्छन्, कतिपयलाई समयले नै अलग बनाइदिन्छ। मेरो जीवनमा पनि त्यही भयो। त्यसैले अहिले मेरा यी तीनजना पाका मानिस नै मेरा सबैभन्दा परिपक्व साथी हुन्।”
उनका यी शब्दहरूले मेरो मनको कुनै गहिरो कुनामा पुगेर छोए। मैले मनमनै उनको कुरामा सहमति जनाएँ। साँच्चै, जीवनमा कति धेरै मानिससँग भेट हुन्छ। कसैलाई दाजु भनिन्छ, कसैलाई भाइ, कसैलाई आत्मीय मित्र, कसैलाई मुटुको साथी। सँगै कफी खाइन्छ, खाना खाइन्छ, घुमिन्छ, रमाइन्छ, फोटो खिचिन्छ, सामाजिक सञ्जालमा मित्रताको प्रदर्शन गरिन्छ। तर समय बित्दै जाँदा तीमध्ये कति जना बाँकी रहन्छन् ? कसैले फोन गर्न छाड्छ, कसैले सन्देशको उत्तर दिन छाड्छ, कोही आफ्नै संसारमा हराउँछ, कोही आवश्यकता सकिएपछि टाढिन्छ। अनि कुनै दिन फर्केर हेर्दा थाहा हुन्छ, हिजो हामीलाई घेरेर उभिएको भीड र आज हाम्रो कुरा सुनिदिने मानिसको सङ्ख्यामा कति ठूलो अन्तर रहेछ ! मित्रता सँगै खिचिएका तस्बिरहरूको सङ्ख्याले होइन, मनभित्र थुप्रिएका कुरा निर्धक्कसँग सुनाउन सकिने विश्वासले मापन हुँदो रहेछ। कहिलेकाहीँ सयौँ चिनजानका मानिसभन्दा एउटा धैर्यपूर्वक सुनिदिने साथी धेरै मूल्यवान् हुँदो रहेछ। Eleutério सँग विलासी गाडी छन्, घर छ, सम्पत्ति छ, सम्पन्नता छ। तर उनी ती सबैभन्दा बढी मूल्य आफ्नो कुरा सुनिदिने तीनजना वृद्ध साथीहरूलाई दिन्छन्। उनीहरूलाई भेट्न गाउँगाउँ पुग्छन्। घण्टौँ समय बिताउँछन्। बिदाइमा २० युरो दिएर फर्किन्छन्। मलाई लाग्छ, ती २० युरो मित्रताको मूल्य होइनन्, उनको मनभित्रको कृतज्ञताको सानो अभिव्यक्ति मात्र हुन्। किनभने साँचो आत्मीयता पैसाले किन्न सकिँदैन। कसैलाई मन खोलेर बोल्न दिनु, उसका कुरा नसकिउन्जेल सुनिरहनु र उसलाई एक्लो महसुस हुन नदिनु पनि ठूलो मानवीय गुण रहेछ।
त्यस दिन Eleutério सँग छुट्टिएर फर्किंदा म निकैबेर सोचिरहेँ। मानिसलाई जीवनमा वास्तवमै कति साथी चाहिन्छन् ? सयौँ मानिसले चिन्ने जीवन राम्रो कि थोरै मानिसले मनैदेखि बुझ्ने जीवन ? धेरैसँग फोटो भएको मित्रता ठूलो कि एउटै फोटो नभए पनि वर्षौँसम्म कायम रहने आत्मीयता ठूलो ? Eleutério सँग मेरो आजसम्म एउटा फोटो छैन, तर उनको जीवनको यो कथा भने मेरो स्मृतिमा कुनै तस्बिरभन्दा गहिरो गरी बसेको छ। उनका तीनजना परिपक्व साथीहरूबारे सुन्दा मलाई लाग्यो, उमेरले मात्र मानिस बूढो हुँदैन, अनुभवले परिपक्व बनाउँछ। अनि परिपक्व मित्रतामा देखावटीपन हुँदैन, प्रतिस्पर्धा हुँदैन, अनावश्यक अपेक्षा हुँदैन। त्यहाँ केवल एकअर्कालाई बुझ्ने मन हुन्छ। सायद जीवनको उत्तरार्धमा मानिसलाई चाहिने सबैभन्दा ठूलो सम्पत्ति पनि त्यही हो। तर यति धेरै कुरा सुनाउने Eleutério ले एउटा प्रश्नको उत्तर भने अझै दिएका छैनन्। युरोपका प्रायः सबैजसो देश आफ्नै गाडी चलाएर पुग्ने, सम्पन्न र स्वतन्त्र जीवन बिताउने यी ५४ वर्षीय पोर्तुगिजले आजसम्म एउटा पनि हवाईजहाज किन चढेनन् ? मैले सोध्दा उनी सधैँ मुस्कुराउँदै भन्छन्, “कुनै दिन कहानी सुनाउँला।” म आज पनि त्यो कहानी सुन्ने प्रतीक्षामा छु। सायद उनको जीवनको सबैभन्दा गहिरो कथा त्यही अनुत्तरित प्रश्नभित्र लुकेको छ। तर उनले त्यो रहस्य सुनाऊन् वा नसुनाऊन्, उनका यी तीन परिपक्व साथीहरूले मलाई एउटा कुरा भने सिकाइसकेका छन्—जीवनमा सबैभन्दा भाग्यमानी मानिस त्यो होइन, जसको वरिपरि धेरै मानिस छन्; भाग्यमानी त त्यो हो, जसको मन भारी हुँदा उसको कुरा सुनिदिने कोही छ। किनभने उमेर ढल्किँदै जाँदा मानिसलाई भीड होइन, आत्मीयता चाहिँदो रहेछ; प्रशंसा होइन, बुझिदिने मन चाहिँदो रहेछ; अनि हजारौँ परिचित अनुहार होइन, मन खोलेर बोल्न सकिने एकाध परिपक्व साथी चाहिँदा रहेछन्।
✍️✍️✍️ रमेश राज वास्तोला लिजवन पोर्तुगल