ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स

सल्यान ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोश्रो पटक गृह जिल्ला आएका मन्त्री प्रकाश ज्वालाले आफुहरुले गरेको कामको नतिजा देखिन थालेको बताएका छन् ।

विहिबार नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्वालाले तत्काल सडक ऐन ल्याउने र सडक वर्गिकरण गरिने बताए ।

केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेट सम्मको सकडकोे काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिने उनले बताए । यसबारे कार्यदलले प्रतिवेदन दिइसकेको मन्त्री ज्वालाको भनाई छ । राप्ती राजमार्गको सुधारको केही काम भएको उल्लेख गर्दै उनले आफ्नै कार्यकालमा यस राजमार्गको स्तरवृद्धिको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका व्यतिथी हटाउन केही काम अघि बढाइएको बताए ।

उनले भने, ‘अहिले पनि सवारी चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन् । यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ ।’

ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स हात पर्नेगरी काम बघि बढाइने उनको दाबी छ । यातायात क्षेत्रमा विचौलियाको विगविगी अन्त्य गर्न अनलाईन प्रणाली सुरु गरिसकेको भन्दै उनले एक महिनाभित्र देशैभरी अनलाईन प्रणाली कार्यान्वयनमा आउने जनाए ।

सल्यानबाट यातायात सम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुंगो लागिसकेको पनि मन्त्री ज्वालाले बताए ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर धुलो, हिलो र जाम रहित राजधानी बनाउनका लागि महत्वपूर्ण कार्यक्रम सुरु गर्न लागेको पनि उनले जानकारी गराए । ज्वालाका अनुसार राजधानी काठमाण्डौँमा द्रुत बस सेवा सञ्चालन गर्ने तयारी छ ।

पहिलो चरणमा रत्नपार्क देखी सुर्यविनायक सम्म विहान २ घण्टा र बेलुकी २ घण्टा द्रुत बस सेवा सञ्चालन हुनेछ । द्रुत बस सेवामा जोडिएका गाडिमात्रै सञ्चालनका लागि छुट्टै सडक लेनको व्यवस्था हुने र यसले जाम पनि नहुने र निकै छोटो समयमा यात्रुहरु गन्तव्यमा पुग्न सक्ने यातायात मन्त्री ज्वालाको अपेक्षा छ ।

आफ्नो मन्त्रालय विभिन्न सेटिङ, विचौलिया, मिलेमतो र अनुचित सम्बन्धको घेराभित्र रहेकोमा यस्ता विषयमा प्रश्न नउठ्ने गरी काम अघि बढाइएको उनले बताए ।

ज्वालाले भने, ‘राजनितीक र प्रशासनीक नेतृत्वलाई प्रभावित पार्ने क्रियाकलाप रोकिएको छ । योजना अलपत्र पर्ने तर व्यक्ति मोटाउने रोग पनि एक किसिमले समाधान गरेका छौँ ।’

पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य उदय बहादुर वोहरा लगाएतको पनि सहभागिता थियो । पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ सल्यानका सचिव टिकाराम भण्डारीले गरेका थिए ।

 

सेयर गर्नुहोस्