थाइल्याण्डका नेपालीको इतिहास पुस्तकमा

थाइल्यान्ड । संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताउनुभएको छ । थाइ नेपाली सङ्घद्वारा बिहीबार काठमाडौंमा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण समारोहमा उहाँले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा पछिल्लो समय घटिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ ठेट नेपाली बोल्नेमा कमी देखिएको छ । हामीले नेपाल बाहिर रहनुभएका नेपालीबाट सिक्नु जरुरी छ । ठेट नेपाली शब्दको प्रयोग गर्नुलाई अन्य भाषाको ज्ञान नभएको रूपमा बुझ्नु भएन ।” उहाँले आप्रवासी नेपालीहरूको यस्तै गतिविधिले यहाँ झक्झकाउने समेत बताउनुभयो ।

कार्यक्रममा सङ्घकी अध्यक्ष वासाना राईले नेपालमा आएर पुस्तक नेपाली र अङ्ग्रेजी भाषासँगै तस्बिर कथामा लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुस्तकले थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिन्छ । देशबाहिर रहेर पनि यहाँको संस्कृतिप्रतिको लगावलाई दर्शाउँछ । यो हाम्रो अनुभुति हो ।”

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता रमेश खड्काले ८० वर्षको पुरानो इतिहासलाई पुस्तकमा समेट्न पाउँदा गौरव महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “असी वर्षभन्दा बढी लामो समयदेखि थाइल्याण्डमा बसोबास गरिरहेका आप्रवासी नेपालीका बारेमा वर्षदिन लामो अध्ययन र अनुसन्धानपछि यो पुस्तक तयार भएको हो । मैले उहाँहरूको इतिहासलाई नजिकबाट बुझ्ने मौका पाएँ, मैले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छु ।”

उहाँले थाइल्याण्डमा नेपाली आप्रवासीको मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रूपमा बाहिर ल्याएको बताउनुभयो ।

कार्यक्रममा पूर्वराजदूतहरू डा। दिनेश भट्टराई, डा। खगनाथ अधिकारी, सङ्घका पूर्वअध्यक्ष कुमार कार्की, गायक आनन्द कार्की, गायिका इन्दिरा जोशी, अभिनेत्री दीपाश्री निरौला, अभिनेता किरण केसी, निर्मल शर्मा, जीतु नेपाललगायत उपस्थित हुनुहुन्थ्यो । कायक्रममा संस्कृति झल्काउने नृत्यसँगै नेपालीले थाइल्याण्डको पिलोक भन्ने स्थानबाट सुरू गरेको जीवनीलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरिएको थियो ।

पुस्तकमा नेपालीहरूको आप्रवासन र थाइल्याण्डमा नेपालीहरूको इतिहासबारे लुकेका तथ्य समेटिएको छ । बर्मासँग सीमा जोडिएको थाइल्याण्डको पिलोक भन्ने ठाउँमा माइन ९कोइलाखानी०को काम गरेर सुरु भएको नेपालीहरूको थाइल्याण्ड आप्रवासनको कथालाई प्रस्तुत गरिएको पुस्तकमा एउटा पहाडको टुप्पोमा कसरी उनीहरूले आफ्नो जीवनलाई चलायमान पारे र कसरी आफ्नो भूमिकालाई स्थापित गरे भन्ने कुरा पनि समावेश गरिएको छ ।

उनीहरूको अनागरिकदेखि थाइ नागरिकसम्मको यात्राको सन्दर्भ पनि पुस्तकमा समावेश गरिएको छ । पिलोकमा लामो समय बिताएका बूढापाका र अनुभवी मानिसहरू, थाइ नागरिकहरू, थाइ सरकार र सुरक्षा अङ्गमा रहेर काम गरेका करीब दुई सयभन्दा बढी स्रोत व्यक्तिहरूसँगको कुराकानी र थाइल्याण्डमा भएको नेपालीहरूको आप्रवासानका ऐतिहासिक दस्तावेजहरूको अध्ययनपछि यो पुस्तक तयार गरिएको समारोहमा जानकारी दिइएको थियो । रासस

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *