काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेसँगै आयात खुकुलो बनाइएको छ । नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको हो ।
एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरिएको हो
एलसीको सीमा बढे पनि अहिले केही शर्त राखिएका छन् । संशोधित व्यवस्थाअनुसार अघिल्लो पटक सटही सुविधा प्राप्त गरी आयात भएको सात दिन व्यतित भएपछि मात्र अर्को सटही सुविधा पाइनेछ ।
अर्को पटकको सटही सुविधा पाउनका लागि अघिल्लो प्रतितपत्रअनुसार वस्तु आयात भएको प्रमाणको रुपमा भन्सार कार्यालयले प्रमाणित गरेको फारम, भन्सार प्रज्ञापनपत्र तथा भन्सार राजस्व भुक्तानी भएको रसिद सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पेश गर्नुपर्नेछ ।
अघिल्लो सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताले यी कागजातका अतिरिक्त सात दिन व्यतित भएको सम्बन्धी स्वघोषणासमेत पेश गर्नुपर्नेछ ।