पोर्चुगलमा ६० प्रतिशत सम्बन्ध विच्छेद

लिस्बन(पोर्चुगल) । पोर्चुगलमा ६० प्रतिशत विवाह सम्बन्ध विच्छेदमा टुंगिने गरेको पाइएको छ । पोर्डाटाले सन् २०२१ मा अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार पोर्चुगलमा प्रत्येक १ सय विवाहमा ६० सम्बन्धविच्छेद भएको पाइएको थियो । पोर्डाटाले युरोपियन मुलुकका विवाह र सम्बन्ध विच्छेदबारे विस्तृत अध्ययन गरेको थियो ।

पोर्चुगल कट्टर क्यालोलिक देश भए पनि सिद्धान्त पालना गर्दैनन् । खासगरी महिलामा स्वतन्त्र हुन चाहने दर बढेकाले विच्छेद हुने क्रम बढेको अध्ययनले देखाएको छ ।

यहाँ एक वर्षमा १७ हजार ५ सय सम्बन्ध विच्छेद भएका हुन् । कोभिडपछि विच्छेद दर ५० प्रतिशत भन्दा बढी रहेको अनुसन्धानले देखाउँछ ।

अध्ययन अनुसार सम्बन्ध विच्छेद हुने मुलुकमध्ये पहिलो नम्बरमा लक्जेम्वर्ग पर्छ । यहाँ ७२ प्रतिशत विवाहहरु सम्बन्ध विच्छेदमा टुंगिने गरेका छन् ।

सम्बन्ध विच्छेद हुने दोस्रो मुलुकमा फिनल्याण्ड पर्छ । यहाँ ६२ दशमलव १ प्रतिशत विवाह विच्छेद हुने गरेका छन् ।
त्यसपछि स्वीडेनमा ६० दशमलव ८ प्रतिशत सम्बन्ध विच्छेद हुने गरेको अध्ययनले देखाएको छ । स्पेनमा ५८ दशमलव ८ प्रतिशत विवाह विच्छेद हुने गरेका छन् ।

माल्टा, रोमानिया र हंगेरीमा भने निकै कम मात्रै विच्छेद हुने गरेका छन् । माल्टा १४ दशमलव १, रोमानिया २३.७ र हंगेरीमा २५ दशमलव १ प्रतिशत मात्रै सम्बन्ध विच्छेद हुने गरेको पाइएको छ ।

 

सेयर गर्नुहोस्