काठमाडौं । संसद फेरि अवरुद्ध भएको छ । सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठनको माग राखेर एमालेले साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।
विभिन्न छलफलपश्चात बिहान संसद खुलाउन एमाले सहमत भएको थियो । गृहमन्त्रीको जवाफ आएपछि प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरेको हो ।
बैठकमा सबै राजनीतिक दलका नेता र स्वतन्त्र सांसदहरुले धारणा राखे । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले जवाफ दिए ।
समिति गठन गर्ने प्रतिवद्धता नआएको भन्दै एमालेले संसद अवरुद्ध गरिरहेको हो ।
सभामुख देवराज घिमिरे र प्रधानमन्त्री प्रचण्डको अग्रसरतामा संसद खुलाउन व्यापक छलफल भएको थियो ।
मग सम्बोधन गर्नै कुनै तयारी नगरेपछि एमाले बैठकलाई कार्यसूचिमा प्रवेश गर्न नदिएको हो । एमालेका सचेतक महेश बर्तौलाले गृहमन्त्रीको जवाफ चित्त नबुझेका कारण अवरोध जारी राख्नुपरेको बताए ।
समिति गठन हुन्छ भन्ने सोचेर एमालेले संसद बैठक अवरोध नगरेको जनाएको छ ।
एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको झण्डै एक सय किलो सुनका विषयमा अनुसन्धान गर्न कडारुपमा प्रस्तुत भएर उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
गृहमन्त्री श्रेष्ठले राज्यका निकायले जारी राखेको अनुसन्धानमा विश्वास गर्न आग्रह गरेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३५ दिन भित्र अनुसन्धान सक्ने उल्लेख गर्दै कुर्न आग्रह गरेका थिए ।