जनक बराल
जोसेफिनको देशमा काम गर्ने र उतै स्थायी बसोबास गर्ने मेरो चाहनाले अन्ततः मलाई कोपनहेगन पुर्याएरै छाड्यो ।
जाडो मौसम भएर हो कि काम कम भएर वा बेरोजगार धेरै भएर हो कोपनहेगनमा काम पाउन धेरै नै मुस्किल भईरहेको कुरा त सुनिन्थ्यो तर आफैँले भोग्नु पर्दा महसुस भयो कि अन्जान अनि त्यती महँगो शहरमा बेरोजगार भएर पनि ठूलो महत्वकांक्षाको भारि बोकेर भौतारिनु पर्दाको पीडा ।
नयाँ देशमा भाषा र विशेष सीप नभएका हर कोहीलाई सुरुवाती सङ्घर्ष सकसपूर्ण त हुन्छ नै । जस्तो सुकै काम पाए पनि गर्छु भन्ने बाध्यता अर्को तर्फ थियो ।
धेरै समय पछि काम त भेटियो तर काम राती साढे तीन बजेबाट गर्नुपर्ने भयो । नकार्न सक्ने स्थिती थिएन । काम सुरु भयो । रातीको दुई बजे उठेर काममा जानु पर्ने, बस कम पाइने अनि बसबाट ओर्लेर फेरि १५ मिनेट हिड्नु पर्ने बाध्यता ।
कामको सिलसिलामा उसको मेरो त्यही दिन पहिलो पटक भेट भएको थियो रातीको तीन बजे । उ अर्थात घानाको एक जना अर्धबैशे ब्यक्ति डान्सो ।
उ अचम्मको पात्र थियो । उसलाई हरेक काम पर्फेक्ट चाहिने । लापरबाही भन्ने शब्द उसको शब्दकोषमा नै थिएन । उ मरिमरी काम गर्थ्यो, धेरै जसो ब्रेक पनि लिदैन थियो । कामको बारेमा धेरै चिन्ता लिने र आवश्यकता भन्दा बढी ईमान्दार पनि थियो उ ।
कतिपय अवस्थामा उ मैले गरिसकेको काम पनि दोहोर्याएर गर्ने गर्दथ्यो भने कामबाट कुनै गुनासो आउँछ कि वा कामबाट निकाल्छन् कि भन्ने चिन्तामा उ सँँधै पिरोलिरहेको हुन्थ्यो ।
उ १८ बर्षको उमेरमा डेनमार्क आएको रहेछ अभिवावक सङ्गै । उसले न आफ्नो देशमा राम्रो सङ्ग पढाई गर्यो न डेनमार्कमा । न राम्रो अङ्ग्रेजी बोल्न सिक्यो न त डेनिस नै ।
उसले खासै कुनै सीपमुलक काम पनि सिकेनछ । मेसो नपाएर हो भनौं या सही बाटो देखाउने अभिभावक नपाएर भनौं उसमा जुन सीप र आत्मबिश्वास हुनु पर्ने थियो त्यो देखिदैनथ्यो ।
२५ वर्ष डेनमार्क बस्दा पनि न उसले त्यहाँ घर किनेको थियो न त परिवार डेनमार्क ल्याएको थियो । परिवार डेनमार्क ल्याउँँदा खर्च धेरै बढ्ने र सधैभरि तनाब ब्यहोर्ने पर्ने सोचेर उसले परिवार आफ्नै देशमा राखेको रहेछ ।
एउटा छोरो इन्जिनियर पढ्दै थियो भने उसले आफ्ना परिवार सहरमा अपार्टमेन्ट भाडामा लिएर राखेको रहेछ । उसका परिवारको मासिक खर्च, बच्चाको पढाई खर्च र आफ्नो डेनमार्कको खर्च धान्नु पर्ने बाध्यता बिच हप्ताका कुनै दिन उ दुई घण्टा मात्रै सुत्न पाउथ्यो र पनि उ आफ्ना परिवारको सुखका लागि घाम, पानी, थकान अनि निद्रा भुलेर रातदिन नभनी निरन्तर काममा लागिरहेको थियो ।
काम सुरु गरेको केही समयपछि उ म प्रति उदार देखिन थालेको थियो । मेरो छुट्टीको दिनमा आउने अरु धेरै जनाको काम देखे पश्चात उ मप्रति सकारात्मक बनेको थियो ।
काम गर्नु पर्ने ठुलो एरिया , आलारामको सेटिङ्ग गर्न, धेरै प्रकारका काम र केही समय बाहिर पनि हिड्नुपर्ने अनि कम्पनीबाट धेरै सामान मगाउन सुपरभाइजरसङ्ग बारम्बार सम्पर्क गर्नु पर्ने भएकोले काम चुनौतीपूर्ण र झन्झटिलो थियो नै पानी र हिउँ पर्दा झन कष्टकर पनि थियो ।
उसको सबै पारिवारिक अवस्था बुझेपछि र उसको कथा र जीवनशैली देख्दा मेरो मनमा उप्रति करुणा भाव उत्पन्न भएको थियो । मैले मेरो सुपरभाईजर र कम्पनीको मुख्य जिम्मेवार ब्यक्तिहरुसङ्ग उसकै अगाडि उ कम्पनीको लागि सम्भवत सबैभन्दा इमान्दार कामदार रहेको र उसले यदि त्यो काम छोडेमा फेरि त्यस्तै कामदार पाउन असम्भव हुने कुरा बताइरहन्थे ।
अन्तत मैले कम्पनी र डेनमार्क नै छोड्ने निष्कर्षमा पुगे र कामबाट राजिनामा गरेँ । त्यो ठाउँमा जो पायो त्यही मान्छेले काम गर्न सक्दैनन् र कम्पनीले कसैलाई पठाहालेमा टिक्दैनन् भन्ने कुरा कम्पनीले पनि राम्ररी बुझेको थियो ।
मैले कम्पनी छोड्ने र राजिनामा गरिसकेको कुरा उसलाई नभनिदिन सुपरभाइजरलाई आग्रह गरेको थिएँ, किनभने म जाँदैछु भन्ने कुरा थाहा पायो भने उ धेरै हतोत्साहित हुनेछ र दुखी पनि हुनेछ त्यसको कारण थियो नयाँ मान्छे त्यहाँ आउने बित्तिकै उसलाई कामको बोझ थपिने वाला थियो र त्यहाँ टिक्ने निस्चित पनि थिएन ।
काम छोड्नु केहिदिन अगाडि मैले उसलाई म केही अत्यावश्यक कामले नेपाल जान लागेको र डिसेम्बरमा फर्किने कुरा बताएँ । उसको अनुहार तत्कालै मलिन भयो , उ केही बेर मसङ्ग बोल्दा पनि बोलेन ।
उ भन्दै थियो अब त गएपछि फेरि फर्केर आउँदैनस्, अर्को मान्छे जो आए पनि यहाँ टिक्दैन, म माथि ठूलो दवाव पर्छ, सायद अब म पनि यो काम छोड्छु होला ्र ू
म फेरि फर्कने वाला त थिइन तर पनि मैले उसको मनोबल बढाउनलाई म फेरि डिसेम्बरमा फर्किने र पुनः काम गर्ने कुरा बताएँ । म गएपछि अर्को कोही नयाँ मान्छे आउनेछ र केही हप्तामा काम सिकिहाल्ने छ अनि उसले मलाई भुल्दै पनि जानेछ भनेर मैले त्यो झुट बोलेको थिएँ । मेरो झुट पश्चात पनि उसले दोहोर्याएर मलाई सोधेको थियो , तँ साच्चै आउछस् नि भनेर, मैले बारम्बार म फर्किन्छु भनेपछि उ ढुक्क बनेको थियो ।
अन्तिम दिनको बिदाईको बेला उसले भनेको थियो अब त आउनलाई ७५ दिन लाग्ने रहेछ । म त्यति बेलासम्म जसोतसो यहाँ काम गर्दै गर्छु अनि त फर्केपछि हामी दुई जना मिलेर फेरि काम गरौंला । मैले सहमति जनाउदै मुन्टो हल्लाएँ र त्यहाँ बाट बिदा भएँ ।
मैले डेनमार्क छाडेको पनि ६ महिना बितिसक्यो, अरु धेरै जना मान्छे आएर पनि त्यहाँ काम गरिसके होलान् , सायद उसको दिमागमा मेरो कुनै सम्झना पनि बाँकी छैनन् होला तर पनि जब जब म उसलाई र मैले बोलेको झुठलाई सम्झन्छु अनि मलाई लाग्ने गर्दछ कि कोपनहेगनमा कोही एक जना मेरो बाटो कुरिरहेको छ ।