काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई समाजिक सुरक्षाको दायरामा समेटिने बताएका छन् । कोही नेपाली पनि सामाजिाक सुरक्षाको दायराबाट बाहिर नहुने उनले बताए ।
यसैबीच अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले छोटो समयमा ३ लाख श्रमिक यसमा आवद्ध हुनु खुसीको कुरा भउको बताए ।
‘औपचारिक क्षेत्रका निजी संगठित संस्थाबाट सुरु हुँदै वैदेशिक रोजगारका क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको सामाजिक सुरक्षा अभियानको योजनामा अबदेखि अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिएसँग कोही पनि बाहिर नबस्ने उनले बताए ।
प्रधानमन्त्री दाहालले सरकार यसको लागि यस्ता कार्यमा अग्रसर रहने प्रतिवद्धता जनाए। अनौपचारिक क्षेत्रका श्रमिकहरुको हकमा समेत राज्यको योगदानलाई कार्यन्वयनमा ल्याउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।
‘औपचारिक क्षेत्रका सबै श्रमिकलाई अनिवार्यरूपमा कोषमा आबद्ध गराउने उद्देश्यले प्रतिष्ठानहरूको दर्ता, नवीकरण, कर प्रणाली, खरिद प्रक्रियामा सहभागिता लगायतका विषयमा नीतिगत समन्वयका लागि पहल गरिरहेको उनको भनाइ छ ।
कोषको क्षमता अभिबृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका श्रमिकहरूलाई चरणवद्धरुपमा कोषमा आवद्ध गराउने कार्य सुरु गर्ने सरकारको तयारी छ । अनौपचारिक क्षेत्रका श्रमिकहरूका हकमा समेत राज्यको सह–योगदानलाई कार्यान्वयनमा ल्याउन विषयमा सरकार गम्भीर रहेको र यसका लागि आवश्यक गृहकार्य गर्ने दाहालले व्यक्त गरे ।
श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, शरदसिंह भण्डारीले विश्व बजारमा गइरहेको नेपाली श्रमिकलाई रोक्न पनि सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए ।