नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग तथा दूतावास स्थापना गराउन सुरु गरेको हस्ताक्षर अभियानले क्रमशः व्यापक समर्थन प्राप्त गरिरहेको छ । विशेष गरी पछिल्लो समय झापाली समाज पोर्तुगलले औपचारिक रूपमा अभियानप्रति ऐक्यबद्धता जनाउँदै समर्थन पत्र सार्वजनिक गरेपछि अभियानमा नयाँ ऊर्जा थपिएको अभियान पक्षले जनाएको छ ।
विगत दुई महिनादेखि जनस्तरबाट सञ्चालन भइरहेको उक्त हस्ताक्षर अभियानको मुख्य उद्देश्य पोर्तुगल सरकार तथा संसदको ध्यानाकर्षण गराउँदै नेपालमा पोर्तुगलको दूतावास वा कूटनीतिक नियोग स्थापना गराउन दबाब सिर्जना गर्नु रहेको छ । अभियान पक्षका अनुसार नेपाल र पोर्तुगलबीच बढ्दो सम्बन्ध, पोर्तुगलमा नेपाली समुदायको उल्लेखनीय उपस्थिति तथा सेवाग्राहीहरूको आवश्यकतालाई मध्यनजर गर्दै नेपालमा प्रत्यक्ष कूटनीतिक उपस्थिति आवश्यक भइसकेको छ ।
हालसम्म 1200 + नेपालीहरूले व्यक्तिगत रूपमा हस्ताक्षर गर्दै अभियानलाई साथ दिएका छन् । तर संस्थागत रूपमा खुलेर समर्थन गर्ने संघ–संस्था भने अगाडि आएका थिएनन् । धेरै संस्थाहरूले अभियानको प्रभाव, आवश्यकता तथा दीर्घकालीन महत्वबारे अध्ययन र छलफल गरिरहेका कारण तत्काल निर्णयमा पुग्न सकेका थिएनन् । यस्तो अवस्थामा झापाली समाज पोर्तुगलले आफ्नो आधिकारिक लेटरप्याडमै समर्थन पत्र जारी गर्दै अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता जनाउने पहिलो संस्था बनेको छ । यसलाई अभियान पक्षले अत्यन्त सकारात्मक, ऐतिहासिक र प्रेरणादायी कदमका रूपमा लिएको जनाएको छ ।
झापाली समाज पोर्तुगलद्वारा जारी समर्थन पत्रमा देश, समाज तथा प्रवासी नेपालीहरूको हितका लागि सुरु गरिएको सकारात्मक अभियानमा आफूहरू सधैं साथ, सहयोग र समर्थन गर्दै अघि बढ्ने उल्लेख गरिएको छ । साथै पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई अभियानमा सहभागी भई हस्ताक्षर गर्न आग्रहसमेत गरिएको छ ।
अभियान पक्षले झापाली समाज पोर्तुगलका अध्यक्ष सचिन लिम्बु, सम्पूर्ण कार्यसमिति तथा सल्लाहकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । विशेष रूपमा युवा तथा सफल व्यवसायी अन्जान मिश्रको योगदानको उच्च प्रशंसा गरिएको छ । अभियान पक्षका अनुसार मिश्रले विगत एक दशकदेखि विभिन्न सामाजिक, सामुदायिक तथा प्रवासी नेपालीका गतिविधिहरूमा आर्थिक, नैतिक तथा बौद्धिक सहयोग गर्दै आउनुभएको छ । उहाँकै सक्रिय पहल र समन्वयमा झापाली समाज पोर्तुगलले संस्थागत रूपमा अभियानलाई समर्थन गरेको बताइएको छ ।
अभियान पक्षले यसलाई केवल एउटा समर्थन मात्र नभई प्रवासी नेपाली समुदायभित्रको सामाजिक उत्तरदायित्व, एकता र साझा उद्देश्यको प्रतीकका रूपमा लिएको जनाएको छ । साथै आगामी दिनमा पनि अन्य नेपाली संघ–संस्थाहरूले यस अभियानलाई सकारात्मक रूपमा बुझेर साथ, समर्थन र ऐक्यबद्धता जनाउने विश्वास व्यक्त गरिएको छ ।
अभियानका अभियान्ताहरूले “एकताको शक्ति नै सफलताको आधार” भएको उल्लेख गर्दै सबै नेपाली समुदायलाई साझा हितका विषयमा एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *