नेपालको राहदानी अन्तिमबाट आठौं स्थानमा, ४० देशमा बिना भिसा

काठमाडौँ । नेपालको राहदानी अन्तिमबाट आठौं स्थानमा पुगेको छ ।

हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा पुगेको हो। नेपाल सूचीको ९८औं स्थानमा रहेको छ। बङ्गलादेश, उत्तर कोरिया भन्दा पनि नेपालको राहदानी कमजोर देखिएको हो ।

नेपालको राहदानीले ४० देशमा बिना भिसा जान सकिन्छ । दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको राहदानीले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ।

सुरुमै भिसा नलिई टिकट मात्र काटेर जान सकिने आधारमा विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्क अनुसार सूचिकृत गर्दै आएको छ ।

सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको छ। यी पहिलो नम्बरमा रहेका ६ देशको राहदानीबाट प्रिभिसा बिनै १९४ देशमा प्रवेश गर्न सकिन्छ ।

सातौं स्थानमा रहेको अमेरिकाको पासपोर्टले १८८ देशमा भिसाबिनै प्रवेश गर्न पाइन्छ।
८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिन्छ। चीनको राहदानी ६२ औं स्थानमा छ। चीनको राहदानीबाट ८५ देशमा प्रवेश गर्न सकिन्छ।

 

सेयर गर्नुहोस्