काठमाडौं । देशमा चरम आर्थिक संकट चुलिएको छ । युवामा वितृष्णा बढेको छ । जसले गर्दा युवाहरुमा देश छाड्ने लर्को देखिएको छ ।
पछिल्लो समयमा यूरोपका विभिन्न मुलुकमा आउन युवाले लाखौं खर्च गर्न तयार हुने गरेका छन् । खाडी तथा मलेसियामा भन्दा यूरोपको कमाइ र सेवा सुविधा राम्रो हुने भएकाले यहाँ आउन चाहनेको संख्या बढ्दै गएको छ ।
माल्टा, क्रोएसिया, सर्बिया, रोमानिया, साइप्रसलगायतका देशमा पठाउने भन्दै एजेन्ट पनि सक्रिय हुने गरेका छन् ।
एजेन्टले लाखौं रुपैयाँ लिएर युवाहरुलाई ठग्ने गरेको पाइएको छ ।
पछिल्लो समयमा माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका १३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टाको प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिने आश्वासन दिएकी थिइन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पैसा लिने तर नपठाइ ठगी गर्नेलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
त्यस्तै क्रोएसिया पठाईदिने बाहानामा ठगी गर्नेलाई पनि पक्राउ गरेको छ । लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ९ लुभु बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका ६ घर भएकी ४६ वर्षीया भवानी बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लुभुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
त्यस्तै सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने अर्का व्यक्ति पनि पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिने भनदै १७ लाख ठगी गरेको अभियोगमा बारा जितपुरसिमरा उपमहानगरपालिका १ बस्ने २५ वर्षीय दिपेश बास्कोटालाई हरीले पक्राउ गरेको हो ।
बास्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।