पोर्चुगलका लागि राजदूतमा सनिल नेपाल सिफारिस

पोर्चुगल । पोर्चुगलका लागि राजदूत तोकिएका छन् । सरकारले सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको हो ।

पोर्चुगलमा लामो समयदेखि राजदूतावास स्थापना हुन सकेको थिएन । राजदूतावास स्थापनासँगै सरकारले राजदूत नियुक्ति गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगलमा दूतावास स्थापना गर्न र राजदूत सिफारिस गरेको हो ।
पोर्चुगलमा करिब ६० हजार नेपाली बसोबास गर्ने अनौपचारिक तथ्यांक छ । तर, यकिन कति नेपाली यहाँ छन् भन्ने तथ्यांक राख्न सकिएको छैन ।

पोर्चुगलमा बस्ने नेपालीहरुले राजदूतावास नहुँदा धेरै दुःख पाइएको गुनासो गर्दै आएका थिए । राजदूतावास स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकार, राजनीतिक दल तथा निकटम सांसदहरुसँग दूतावासका लागि लबिइ गर्दै आएका थिए । गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसअघि सांसदहरु छिरि ल्हामु, विनिता कठायतलगायत सांसदहरुले संसदको प्रतिनिधिसभा तथा संमितिको समितिमा आवाज उठाएका थिए ।

पाल्पा घर भएका सनिल नेपाल नेपाली कांग्रेसका युवा नेता हुन् । उनी कूटनीतिक मामिलाविज्ञ मानिन्छन् । कूटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रूपमा सक्रिय देखिन्छन् ।

उनले कांग्रेसमा संसद्, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रूपमा परामर्श दिने काम गर्दै आएका नेपाल दर्जनौँ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघसंस्थाका लागि काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय क्याम्पसको अध्यक्ष भए । त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकायतर्फको अंग्रेजी साहित्य र समाजशास्त्र स्नातकोत्तर गरेका छन् । उनी कानुनशास्त्रका विद्यार्थी पनि हुन्।

 

सेयर गर्नुहोस्