विदेशबाटै गैरआवासीय नेपाली नागरिकता

काठमाडौँ । गैरआवासीय नेपालीले आफू कार्यरत देशबाटै नागरिकता पाउने भएका छन् । गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन आवेदन दिन पाउने भएका हुन् ।

सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनमा गैरआवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाउँछन् । उनीहरुको नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्छ।

गैर आवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण लगायत कागजात पेश गर्नुपर्छ । सार्क राष्ट्रमा बसोबास गर्नेहरूले गैरआवासीय नेपाली नागरिकता पाउने छैनन् ।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्छ । निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्छ ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेश गरेको विदेशको नागरिकता र राहदानीमा शङ्का लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न सक्छन् । वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ ।

गैर आवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता अर्थात् शपथ गराउनुपर्छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *