पोर्चुगल । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न राजनीतिक तबरबाट तीर्व पहल सुरु भएको छ । पोर्चुगलमा बस्ने नेपालीहरुले बारम्बर उठाइरहेको आवाज पछिल्लो समयमा राजनीतिक दलहरुले पनि सुन्न थालेका हुन् । पछिल्लो समयमा राजदूतावास स्थापना गर्न संसद् तथा संसदका विभिन्न समितिमा छलफल सुरु भएको छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा पोर्चुगलमा राजदूतावास स्थापना गर्नेबारे छलफल भयो । समितिले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
सो अवसरमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद् छिरिङ ल्यामु लामाले पोर्चुगलमा राजदूतावास नहुँदा त्यहाँ रहेका नेपालीलाई राहदानी बनाउने लगायतका समस्या भएको बताउनुभयो ।
पोर्चुगलमा करिब ६० हजार नेपाली हुँदा पनि दूतावास नहुनु दुःखद भएको भन्दै सांसद लामाले यथाशक्य पहल गर्नुपर्ने बताउनुभयो ।
स्पेन, डेनमार्कमा राजदूतावास भए पनि पोर्चुगलका नेपाली फ्रान्स जानुपर्ने वाध्यता भएको उहाँले बताउनुभयो।
डेनमार्क र स्पेनमा नेपालीको संख्या कम भए पनि राजदूतावास स्थापना गरिएको छ । तर,पोर्चुगलमा नेपालीको संख्या उल्लेख्य हुँदा पनि दूतावास नहुनु चिन्ताको विषय भएको बताउनुभयो ।
यस्तै केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले पनि संसदको शुन्य समयमा बोल्दै पोर्चुगलमा राजदूतावास स्थापना गर्नुपर्ने आवाज उठाउनुभएको थियो ।
पछिल्लो समयमा संसद तथा संसदका समितिहरुमा दूतवासबारे छलफल हुन थालेपछि पोर्चुगलमा बस्ने हजारौं नेपाली उत्साहित भएका छन् ।
पोर्चुगलमा बस्ने नेपालीहरुले लामो समयदेखि राजदूतावास स्थापना गर्न लबिङ गर्दै आएका थिए । तर, धेरैजसो सरकार तथा राजनीतिक पार्टीहरुले प्राथमिकता दिएका थिएनन् ।
अहिले माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । यसले पोर्चुगलमा बस्ने नेपालीहरुमा आशाको सञ्चार जगाएको छ ।
नेपाल–पोर्चुगलबीच दौत्य सम्बन्ध स्थापनाको दशकौं वर्ष भइसकेको छ । पोर्चुगल नेपालीहरुका लागि आकर्षक मुलुक बनिसकेको छ । रोजगारी र व्यापारका लागि हजारौं नेपाली पोर्चुगल रोजाइ बन्ने गरेको छ ।
तर, आधिकारिक निकाय राजदूतावास स्थापना नहुँदा थुर्पै समस्या झेल्दै आएका छन् । धेरै पहिलेदेखि लबिङ गर्दै आएका नेपालीहरु हाल भइरहेका प्रयासहरु सार्थक हुनेमा आशावादी छन् ।
दूतावास स्थापना गर्न सकेमा बहुआयामिक फाइदा लिन सकिने नेपालीहरु बताउँछन् । दूतावास भएमा नेपालीको अभिभावक निकाय हुने, राहदानी जारी तथा नविकरण गर्न सहज हुने छ । अहिले धेरै नेपालीले यस्ता विषयमा समस्या भोग्दै आएका छन् ।
अस्थायी बसोबास अनुमति प्राप्त पछि परिवारलाई ल्याउन पाइने सुविधा उपभोग गर्न भारतको दिल्लीस्थित भिएफएसमार्फत आवेदन दिनुपर्ने वाध्यता छ ।
अनावश्यक खर्च र जालझेलको सामना गर्न नेपालमा पनि पोर्चुगलका लागि भिएफएस काउन्टर स्थापना गर्नुपर्ने यहाँका नेपाली बताउँछन् । यसो हुन सके करौडौं नेपाली रुपैयाँ भारत जान रोकिने छ ।
दूतावास स्थापना भइसकेपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ प्रगाढ हुने र राज्यस्तरमा विकास, सूचना–प्रविधि, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा नेपालले यहाँबाट ठूलो सहयोग तथा अनुभव आदानप्रदान हुने वातावरण बन्ने छ ।
दूतावास भएमा पोर्चुगिजलाई नेपाल भ्रमण गराउन सहज हुने, नेपालबाट पोर्चुगलमा मौसमी कामका लागि श्रमिक ल्याउन सकिने, भाषा, साहित्य, संस्कृति, कला र सिनेमा क्षेत्रमा पनि सहयोग आदानप्रदान गर्न सकिने भएकाले यहाँका नेपालीले सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराइरहेका छन् ।
भिडियो सौजन्य : दृष्टि न्यूज