काठमाडौं । साउदी अरबको दमाममा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडान भर्ने भएको छ । भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा सिधा उडान भर्ने तयारी भएको हो ।
काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी टिकट बुकिङ खुला गरिएको जनाइएको छ । रियादमा उडान गरिरहेको नेपाल एयरलाइन्सको यो ११औँ दमाम अन्तर्राष्ट्रिय उडान गन्तव्य हो ।
निगमले काठमाडौँ–दमाम–काठमाडौँ साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने गर्ने छ । बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना छ ।
काठमाडौँ–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौँका लागि पाँच सय ९६ साउदी रियाल तोकिएको छ। निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने जनाइएको छ ।
निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान गर्दै आएको छ ।