काठमाडौँ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यतिबेला साउदी अरेबियाको क्लब अल—नासरमा आबद्ध छन् । साउदी लिग खेल्न उनी आकर्षक रकममा नासरमा आबद्ध भएका हुन् ।
रोनाल्डो सबैभन्दा प्रभावशाली खेलाडी मानिन्छन्। साउदी अरेबियामा उनको जीवनशैली पनि आकर्षक र भव्य छ । उनी विश्व खेलकुदकै सर्वाधिक कमाउने खेलाडीको सूचिमा उच्च स्थानमा आउँछन् ।
पोर्चुगलका ३८ वर्षीय रोनाल्डो विश्वका चर्चित क्लबहरुबाट सफल प्रदर्शनी गरेका छन् । विभिन्न क्षेत्रमा व्यवसायिक फुटबल खेलेर उत्कृष्ट प्रर्दशनी गरेका रोनाल्डो पोर्चुगलको स्पोर्टिङ सीपीको सिनियर टोलीबाट ब्यवसायीक खेलजीवनमा भित्रिएका थिए ।
त्यसपछि उनले इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबहरुबाट खेलेर सफलता प्राप्त गरे । उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेले र आफूलाई थप तिखार्न सफल भए ।
त्यसपछि उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भए । नौ वर्ष रियल म्याड्रिडमा बस्दा उनको पहिचान फेरियो । क्लबले थुप्रै सफलता पायो । त्यसपछि उनी इटालियन क्लब युभेन्ट्सतिर लागे । तीन वर्ष युभेन्ट्समा खेलेर पुनः म्यानचेस्टर युनाइटेड फर्किए ।
रोनाल्डो हालै साउदीस्थित आफ्नै निवासको कौशीमा बसेर चिया पिउँदै गरेको तस्बिर सार्वजनिक भयो । तस्बिरसँगै घडीको मूल्य महंगो भएको चर्चा चलिरहेको छ ।
रोनाल्डोले लगाएको निलो रङको घडी बनाउन सुनको प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घडीको मूल्य सात लाख ५० हजार ब्रिटिस पाउण्ड (करिब १२ करोड ६५ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्ने जनाइएको छ ।