अवैध विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौं । अवैध विदेशी मुद्रासहित दुईजना पक्राउ परेका छन् । भारतीय र अमेरिकी डलर अवैधरुपमा कारोबार गर्ने दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।

ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित पक्राउ गरिएको हो ।

यसैबीच बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ सय ४२ थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित साउदी अरेबियन नागरिक ५३ वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमान पनि पक्राउ परेका छन् ।

बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व विभाग हरिहरभवनमा बुझाउने बुझाइएको छ ।

सेयर गर्नुहोस्