गरिबी निवारणमा चीनले सघाउने, आत्मनिर्भर बन्नका लागि आर्थिक सहयोग

काठमाडौं । चीनले नेपालको गरिबी निवारणमा सघाउने इच्छा देखाएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरूले माओवादी केन्द्रको निमन्त्रणामा नेपाल आइपुगेका सीपीसीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेतृत्वको टोलीले गरिबी न्युनीकरणका विशेष चासो देखाएको हो ।

चीनले गर्दै आएको सहयोगलाई निरन्तरता दिने टोलीले प्रतिवद्धता गरेको छ । उनले नेपालको गरिबी न्युनीकरणका लागि थालनी गरेको सहयोगसम्बन्धी कार्यक्रम अघि बढाउने आश्वासन दिए ।
त्यस्तै नेपाललाई आत्मनिर्भर बनाउन चीनले ८० लाख युआन अर्थात् १४ करोड रुपैयाँ सहयोग गर्ने घोषणा युयानले गरे ।

नेता युयानले राष्ट्रपति सी जिङपिङको भ्रमणका बेला भएको सम्झौता कार्यान्वयनमा जोड दिए । २०१९ मा नेपाल भ्रमणमा आएका राष्ट्रपति सी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच २० वटा सम्झौतामा हस्ताक्षर भएको थियो। ती सम्झौता कार्यान्वयन गराउनु नै नेपाल भ्रमणको उद्देश्य रहेको उनले बताए ।

सन् २०१९ मा महामहिम राष्ट्रपति सी जिङपिङको भ्रमणका बेला निर्णय भएका आयोजना तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनलाई सफल बनाउन भ्रमण गरिएको भन्दै कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेता युयानले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, सहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवं पर्यटन विकास, युवाहरूको आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य गर्ने बताए ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असल सम्बन्ध रहेको स्मरण गर्दै आगामी दिनमा तालिम, क्षमता अभिवृद्धिका क्षेत्रमा थप सहयोग आदानप्रदान हुने उनको भनाइ थियो ।
सोमबार सभामुख देवराज घिमिरेसँगको छलफलमा उनले उक्त सहयोगको घोषणा गरेका थिए। सभामुख घिमिरेलाई उनले चीन भ्रमणको औपचारिक निमन्त्रणासमेत दिए । २६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार काठमाडौं आएका युयानको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरे ।

यसैबचि चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले मंगलबार बिहान एमाले पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरे । उनीहरूबीच दुई देशको द्विपक्षीय हित, दुई देशका कम्युनिष्ट पार्टी र चिनियाँ परियोजनाका विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ। उनीहरुबीच बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे छलफल भयो ।

आइतबार काठमाडौं आएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता लगायतसँग भेटवार्ता गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्चुअल संवाद गरे ।

सेयर गर्नुहोस्