नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम सफल आरोहण भएको ७३ वर्ष पूरा भएको अवसरमा आयोजित विशेष कार्यक्रम लिस्बनस्थित Escola Secundária Marquês de Pombal मा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

मानव साहस, दृढता, सहनशीलता र अन्वेषणको अदम्य भावनाको प्रतीक सगरमाथाको गौरवमय इतिहासलाई स्मरण गर्दै तथा तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको ऐतिहासिक योगदानप्रति सम्मान व्यक्त गर्न आयोजित कार्यक्रममा नेपाली तथा विदेशी समुदायका प्रतिनिधि, कूटनीतिक व्यक्तित्व, पर्वतारोहणप्रेमी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख आकर्षणका रूपमा विश्वप्रसिद्ध पोर्तुगीज हिमाल आरोही ज्वाओ गार्सीया (João Garcia) सहभागी हुनुहुन्थ्यो। सो अवसरमा नेपालका लागि पोर्तुगलस्थित महामहिम राजदूत प्रकाश मणि पौडेल ज्यूले ज्वाओ गार्सीयालाई नेपाली परम्पराअनुसार खादा र नेपाली टोपी लगाई सम्मान गर्नुभयो। साथै सगरमाथाको तस्बिर अंकित विशेष स्मृति–चिन्ह उपहारस्वरूप प्रदान गरी उहाँको नेपालप्रतिको माया, सम्मान तथा पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्नुभयो।

कार्यक्रमलाई अझ रोचक, आकर्षक र जीवन्त बनाउन विभिन्न नेपाली सांस्कृतिक प्रस्तुति, नृत्य तथा सङ्गीतहरू प्रस्तुत गरिएका थिए। नेपाली कला, संस्कृति र मौलिक पहिचान झल्काउने ती प्रस्तुतीहरूले उपस्थित पाहुनाहरूलाई विशेष रूपमा प्रभावित बनाएका थिए।

विशेष अतिथि ज्वाओ गार्सीयाले आफ्नो मन्तव्यका क्रममा पहिलो पटक नेपाल पुगेको अनुभव अत्यन्तै आत्मीय र अविस्मरणीय रहेको बताउनुभयो। उहाँले नेपालका हिमाल, संस्कृति, आतिथ्यता र नेपाली जनताको सरल तथा सहयोगी स्वभावको खुलेर प्रशंसा गर्नुभयो। सगरमाथासँग जोडिएका आफ्ना केही रोमाञ्चक अनुभवहरू पनि उहाँले सहभागीहरूसँग साझा गर्नुभएको थियो।

त्यसैगरी महामहिम राजदूत प्रकाश मणि पौडेलज्यूले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भएको उल्लेख गर्दै कम्तीमा जीवनमा एकपटक नेपाल भ्रमण गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले नेपाल–पोर्तुगल सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा विदेशी पाहुनाहरूलाई नेपाली झोलामा विशेष उपहार प्रदान गरिएको थियो। साथै उपस्थित सम्पूर्ण सहभागीहरूका लागि नेपाली रेस्टुरेन्ट दियालो द्वारा तयार गरिएका स्वादिष्ट नेपाली परिकार तथा चियापानको विशेष व्यवस्था गरिएको थियो। नेपाली स्वाद र आतिथ्यको अनुभवले कार्यक्रमलाई थप आत्मीय र स्मरणीय बनाएको थियो।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन अत्यन्त व्यवस्थित, अनुशासित र सफल रहेको सहभागीहरूले बताएका छन्। कार्यक्रम सफल बनाउन नेपाली राजदूतावासका सम्पूर्ण कूटनीतिक अधिकारी तथा कर्मचारीहरू स्वयं खटिएर विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए। सबैको सक्रिय सहभागिता र समन्वयका कारण कार्यक्रम सभ्य, भव्य तथा सफल रूपमा सम्पन्न भएको थियो।

सगरमाथा दिवसको अवसरमा आयोजित यस कार्यक्रमले नेपालको गौरव, नेपाली संस्कृति तथा नेपाल–पोर्तुगल मित्रतालाई अझ सशक्त रूपमा उजागर गरेको सहभागीहरूको धारणा रहेको छ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *