पोर्तुगलमा हुने राष्ट्रपतीय निर्वाचन केवल राजनीतिक शक्ति परिवर्तनको विषय मात्र होइन, यो देशको भविष्य, लोकतान्त्रिक मूल्य, सामाजिक संरचना र आप्रवासी समुदायको अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। अहिले सार्वजनिक चर्चामा रहेका आठ राष्ट्रपतीय उम्मेद्वारहरूका विचारधारा, पार्टी पृष्ठभूमि र आप्रवासनसम्बन्धी दृष्टिकोण फरक–फरक छन्, जसले पोर्तुगलमा बसोबास गर्ने लाखौँ आप्रवासीहरूको भविष्यमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
कट्टर दायाँ धारका प्रतिनिधि André Ventura (CHEGA) आप्रवासनप्रति कडा नीति अपनाउने पक्षमा छन्। अवैध आप्रवासन, शरणार्थी र परिवार पुनर्मिलनमा कडाइ गर्ने उनको दृष्टिकोणले अनियमित आप्रवासीमा डर र अनिश्चितता बढाउन सक्छ। यद्यपि, कर तिर्ने र नियमित श्रम बजारमा रहेका आप्रवासीलाई उनले “आवश्यक कामदार”का रूपमा हेर्ने संकेत दिएका छन्।
केन्द्र–दायाँ धारका Luís Marques Mendes (PSD) ले नियन्त्रणसहितको आप्रवासनको वकालत गर्छन्। श्रम बजारसँग जोडिएको, कानुनी र व्यवस्थित आप्रवासन उनको प्राथमिकता हो, जसले दीर्घकालीन रूपमा स्थिर र सुरक्षित वातावरण सिर्जना गर्न सक्छ।
स्वतन्त्र उम्मेद्वार Henrique Gouveia e Melo सुरक्षा र संस्थागत क्षमतामा केन्द्रित छन्। उनको आप्रवासन नीति स्पष्ट नभए पनि, राज्य संयन्त्र मजबुत बनाउने दृष्टिकोणले प्रशासनिक प्रक्रियामा सुधार ल्याउने सम्भावना देखिन्छ।
केन्द्र–बायाँ धारका António José Seguro (PS) आप्रवासी–मैत्री उम्मेद्वार मानिन्छन्। परिवार पुनर्मिलन, नियमितीकरण र सामाजिक समावेशलाई प्राथमिकता दिने उनको नीति आप्रवासी समुदायका लागि सकारात्मक हुन सक्छ।
उदारवादी धारका Cotrim de Figueiredo (IL) दक्ष श्रमिक, IT र व्यवसायी आप्रवासीलाई प्राथमिकता दिन्छन्। बजार–आधारित आप्रवासनले उच्च सीप भएका आप्रवासीलाई फाइदा पुर्याए पनि कम दक्ष श्रमिकका लागि अवसर सीमित हुन सक्छ।
कट्टर बायाँ धारकी Catarina Martins (BE) ले कागजविहीन आप्रवासीसमेतलाई पूर्ण अधिकार र संरक्षण दिनुपर्ने पक्ष लिन्छिन्। श्रमिक अधिकार मजबुत बनाउने उनको नीति आप्रवासी मजदुरका लागि अत्यन्तै अनुकूल मानिन्छ।
कम्युनिस्ट धारका António Filipe (PCP) समान अधिकार र शोषणविरुद्ध कडा नीतिमा विश्वास गर्छन्। मजदुर आप्रवासी सुरक्षित भए पनि निजी उद्यमशीलतामा केही सीमितता देखिन सक्छ।
अन्ततः Jorge Pinto जस्ता साना वा स्वतन्त्र धारका उम्मेद्वारको राष्ट्रिय नीतिमा प्रभाव कम देखिन्छ।
यसरी हेर्दा, पोर्तुगलको राष्ट्रपतीय निर्वाचन आप्रवासी समुदायका लागि अत्यन्तै निर्णायक छ। कुन उम्मेद्वार विजयी हुन्छन् भन्ने कुराले आप्रवासन नीति, सामाजिक समावेश र भविष्यको दिशालाई स्पष्ट रूपमा निर्धारण गर्नेछ।
