वैदेशिक लगानी अपरिहार्य : अर्थमन्त्री महत

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताउनुभएको हो ।

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।

सो अवसरमा अर्थमन्त्री डा. महतले नेपाल सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न बिभिन्न सुधारका कार्य शुरु गरेको समेत बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिंदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताउनुभयो । नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एशियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने वीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताउनुभयो ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको बिभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बेलायती संसदमा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका बिभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताउनुभयो । यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिनुभयो ।

विशेष गरी नेपालको नवीकरणीय उर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय उर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग  छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो भने शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरहरुका बारेमा ब्रिटिश कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति गर्नुभएको थियो।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांस फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिवद्ध रहेको लगानीकर्तालाई आश्वासन दिनुभयो। लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको बिभिन्न क्षेत्रमा रहेका अवसरहरुको बारेमा प्रस्तुति दिंदै वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिवद्ध रहेको बताउनुभयो।

त्यसैगरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको उर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत परियोजनाहरु, भारत तथा चीनसँग विद्युत विकास तथा खरीदका लागि भएका सम्झौताहरु एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै यसका लागि ठूलो पूजीको आवश्यक रहेकोले लगानीकर्ताहरुको लागि यस क्षेत्रमा ठूलो अवसर रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आग्रह गर्नुभयो।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय उर्जाको क्षेत्रमा  लगानीका अवसरका बारेमा जानकारी दिंदै नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले वैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभयो। ब्रिटिश इण्टरनेशनल इन्भेष्टमेण्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफुहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको औल्याउनु भयो ।

सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थाहरुको तर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाहरुको लगानीका बारेमा प्रस्तुति दिनुभयो। साथै उक्त अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका ६ वटा विकास वित्तीय संस्थाहरु— ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्याण्ड, बायो, बेल्जियम, फिनफण्ड, फिनल्याण्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीजरल्याण्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो। यसै सिलसिलामा माननीय मन्त्रीज्यूको हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जी पी हिन्दुजासँग नेपालमा लगानी भित्र्याउने विषयमा कुराकानी भयो।

उक्त सममेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, वीमा कम्पनीहरु, बेलायत लगायत यूरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरु,व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत गरी करीब सय जनाको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More