राष्ट्रिय जनावर गाईको चित्र अड्ढित ‘मेडालियन सिक्का’ सार्वजनिक

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी  उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात्  पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेकोछ ।

यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन  सिक्का’कोविक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक
गर्नुभयो ।

महाशाखाले १० ग्राम र २५ ग्रामका  दुई किसिमका चाँदीका मेडालियन सिक्का  टकमरी गरी विक्री सुरु  गरेको हो । १० ग्राम सिक्काको रु.१,६०० र  २५ ग्राम सिक्काको  रु.४,००० मूल्य निर्धारण गरिएको छ ।

बैंकसँग  मौज्दात रहेको चाँदीलाई  गलान गरी मेडालियन सिक्का टकमरी गरिएको  जानकारी टक्सार  महाशाखाले दिएको छ । दुवै सिक्कामा ९९९  टचको चाँदीको प्रयोग  गरिएको छ ।

दर उल्लेख नगरी निष्कासन  गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।  सर्वसाधारणबाट हुने सिक्काको मागलाई  दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता  दिइने महाशाखाले जनाएको छ ।

बैंक सञ्चालक समितिको २०८० जेठ  १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५  ग्रामका मेडालियन सिक्काको टकमरी गर्न  स्वीकृति दिएको थियो ।

सेयर गर्नुहोस्