युरोपियन श्रमबजारमा जाँदा अनुचित प्रभावमा नपर्न आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपियन श्रम गन्तव्य मुलुकमा जादाँ सचेत हुन आग्रह गरेको छ । असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न आग्रह गरेको हो ।

आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगल लगायतका युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको मन्त्रालयले जानकारी गराएको छ ।

दर्ता भएका इजाजत प्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारले व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनधिकृत व्यक्ति वा संस्था एवं सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई कामदार स्वयंले वैदेशिक रोजगार विभाग वा सम्बन्धित संघ तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जानुहुन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध गरे ।

वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुला गरेको मुलुकमा तीन प्रकारको कानूनी प्रकृयाबाट श्रम स्वीकृति प्रदान गरिन्छ।
नेपाल सरकार र सम्बन्धित देशको सरकारबीच श्रम सम्झौता गरी, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएका वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त इजाजतप्राप्त संस्था र तेस्रो व्यक्तिगत रुपमा श्रम स्वीकृति प्रदान गरिने प्रावधान रहेको छ।

इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलब सेवा सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्रि भिषा फ्रि टिकटको बारेमा सम्बन्धित इजाजतप्राप्त संस्थामा स्वयं आफैँ उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकिन गगरेर मात्र जान मन्त्रालयले भनेको छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *