काठमाडौं । सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारि अवैधानिक बाटो हुदै अमेरिका लगिदिने आश्वानस दिने एक व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
धेरै नेपालीलाई अन्यत्र देशमा लगी अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्य गर्ने गरेको आरोपमा कास्की पोखरा महानगरपालिका वडा नं २७ स्थायी वतन भई हाल काठमाडौंको गुह्रेश्वरी पन्चकन्या मार्गमा बस्ने ३४ वर्षका कमल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रतिवादी तामाङ समेतको विरुद्दमा अमेरिका लैजाने भनि मानव बेचबिखन तथा ओसारपसार अपराध गरेको कसुरमा ४ वटा जाहेरी दरखास्त परेको ब्यूरोले जनाएको छ ।
हवाई मार्ग हुदै अमेरिका लैजाने प्रलोभन देखाई ११ लाख ३० हजार ६० लाखसम्म रकम लिई हालसम्म पीडितहरुबाट असुलेको अनुसन्धानबाट खुलेको छ । उनले २ करोड २६ लाख रुपैयाँ लिएको देखिएको छ ।
नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर ,फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्याई अलपत्र पारि थप रकम माग गर्ने गरेको पाइएको छ ।
अमेरिका लैजाने भनी नेपाली नागरिकलाई अवैध रुपमा ओसारपसार गर्ने कार्यमा संलग्न अधिकांश प्रतिवादीहरु नेपालीनै भएको र निजहरु नेपाल तथा अन्य देशहरुमा बसी आआफ्नो जिम्मेवारी वाँडफाड गरी संगठित रुपमा परिचालित हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
अमेरिका लैजाने वहानामा हुने मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा १६ वर्ष उमेर देखि ५० वर्ष उमेर समुहका पुरुष छन् । अमेरिका जाने भनी मानव ओसारपसारमा परेका पीडितहरुले नै राहदानी, भिसा, हवाई टिकट, होटल बुकिङ लगाउतको खर्च आफैले गर्ने गरेको गरेका छन् ।
अमेरिका लैजाने भनी हुने गरेको मानव ओसारपसारमा भिजिट भिसाको दुरुपयोग हुने गरेको, घटनामा अन्य व्यक्तिहरुको संलग्नता रहेको बुझिन आएकोले निजहरुको खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता नरहरी रेग्मीले जानकारी दिए ।