काठमाडौं । सहकारी संस्था बचत रकम दुरुप्रयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी एवम् कर्मचारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेको छ ।
समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायकका सम्बन्धा छलफल भएको थियो ।
सो छलफलमा समितिका सभापति सुर्य थापाले सहकारी समस्याका बारेमा र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारावालसँग छलफल जारी रहेको बताउनुभयो । उहाँले तथ्यगत रुपमा अध्ययन अनुसन्धान गरेर समस्या समाधानका लागि उपाय खोजी गर्ने बताउनुभयो । उहाँले विगतका विभिन्न समितिका प्रतिवेदन समेत अध्ययन गरिरहेको बताउँदै समस्या पालेर समाधान खोज्न नहुने बताउनुभयो ।
सो छलफलमा सांसद ध्रुवबहादुर प्रधन, लेखनाथ दाहाल, शिशिर खनालले सहकारी संस्थाहरुमा देखिएको संकट समाधानका गर्नुपर्ने आवश्यक कार्यको विषयमा अभियानकर्मीसँग सुझाव लिनुभएको थियो । महासंघका अध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लले समस्या हुनुको मुख्य कारण र समाधानका उपायहरुको विषयमा जानकारी गराउँदै लिखित रुपमा समेत बुझाउनुभएको थियो ।
सो छलफलमा महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डिवि बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईको उपस्थिति थियो ।