खाडीमा घरेलु कामदार पठाउन अझै आनाकानी

काठमाडौं । खाडी मुलुकमा घरेलु काामदार पठाउन सरकारले अझै आनाकानी गरिरहेको छ । २०७२ देखि रोकिएको घरेलु कामदार अझै खाडी मुलुक जान पाएका छैनन् । तर, गैरकानुनी बाटोबाट जाने क्रम रोकिएको छैन ।

संसदले विभिन्न शर्त राखेर खाडीमा पठाउन सकिने व्यवस्था गरिएको थियो । तर, सरकारले त्यस्ता शर्त कार्यान्वयन गर्न रुची राखेको छैन् ।

अव्यवहारिक र जटिल समस्याका कारण शर्तहरु कार्यान्वयन गर्न कठिन हुने गरेको सरकारी अधिकारी बताउँछन् ।

खासगरी साउदी, कुवेत, बहराइन र ओमानमा अझै घरेलु कामदार पठाउन सरकारले नचाहेको हो । त्यसबाहेक अन्य मुलुकमा पठाउन भने सरकार इच्छुक देखिएको छ ।

शर्त कार्यान्वयन नगर्ने, वैधानिक रुपमा नपठाउने, अवैधानिक बाटो रोक्न नसक्नाले धेरै महिलाले गन्तव्य मुलुकमा दुःख पाइरहेका छन् ।

महिला अधिकारकर्मी तथा सरोकारवाला निकायले कामदारलाई जानबाट वञ्चित गर्नु उचित नभएको आवाज उठाइरहेका छन् ।

सरकारकै प्रावधानका कारण गलत बाटोबाट जान वाध्य भएको र झनै असुरक्षित हुन पुगेको उनीहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

नेपालबाट घरेलु कामदार लैजान इच्छुक मुलुकमा कामदारको सेवा, शर्त, सुविधासम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारले चाहे पनि गन्तव्य देशले नचाँहदा कार्यान्वयन गर्न जटिल भएको छ ।

सम्झौतामा पारिश्रमिक, बिदा, स्वास्थ्य उपचार, बीमा जस्ता अतिरिक्त सुविधा सुनिश्चित हुनुपर्ने शर्त राखिएको छ ।

 

सेयर गर्नुहोस्