विदेशमा बस्ने नेपालीलाई मतदान गराउन गृहकार्य सुरु

काठमाडौँ । आउने निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने भएका छन् । अब आउने निर्वाचनमा मताधिकार दिनेगरी निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न कसरत गरिरहेको छ । मतदाता संकलन कसरी गर्ने भन्ने बारेमा आयोगले आन्तरिक तयारी सुरु गरेको हो।

कानुनी, आर्थिक तथा जनशक्ति व्यवस्थापन राम्रो नभए पनि नामावली सङ्कलन प्रभावकारी बनाउने आयोगको तयारी छ । त्यसका लागि कार्यविधि बन्दै छ ।
परराष्ट्र मन्त्रालयबाट जनशक्ति र अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनसम्बन्धी छलफल भएपछि मात्रै नामावली सङ्कलनको रूपरेखा तयार हुने आयोगले जनाएको छ ।

नाम दर्ता अधिकारीलगायतका कर्मचारीको व्यवस्थापन, नामावली सङ्कलन गर्ने स्थल, नामावली स्वीकृतिको प्रक्रियालगायतका विषय टुङ्गो लगाउन छलफल भइरहे पनि कार्यविधिमा स्पष्ट व्यवस्था गरिने आयोगले जनाएको छ ।
सम्बन्धित राष्ट्रको कूटनीतिक नियोगमार्फत नामावली सङ्कलन गर्ने गर्ने आयोगको तयारी छ ।

वार्षिक नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकारसम्बन्धी व्यवस्था गरिएको छ । सर्वोच्च अदालतको २०७४ चैत ७ गतेको परमादेशमा जनसङ्ख्याको ठूलो हिस्सालाई मत खसाल्ने अवसरबाटै विमुख गरी नगर्न र मतदानका लागि व्यवस्था गर्न आग्रह आदेश गरेको थियो ।
तर कानुन अभावमा वैदेशिक रोजगारमा रहेका नागरिकले मतदान गर्न सम्भव नभएकाले आवश्यक कानुनी र अन्य पूर्वाधार व्यवस्था गर्न समय लागेको हो ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले पनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न अनुरोध गर्दै आएको छ ।

सेयर गर्नुहोस्