काठमाडौं । नेपालले डिजिटल करेन्सीलाई मान्यता दिने तयारी गरेको छ । छुट्टै डिजिटल मुद्रा जारी गर्न नेपाल राष्ट्र बैंकले विज्ञको टोली बनाएर अध्ययन गरिरहेको छ ।
पछिल्लो समयमा क्रिप्टोकरेन्सी विश्वव्यापीरुपमा चर्चामा छन् ।
कतिपय नेपालीले क्रिप्टोकरेन्सीमा लगानी पनि गरेका छन् । तर, नेपालले गैरकानुनी भन्दै प्रतिबन्ध लगाउँदै आएको छ । विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्समिा लगानी गरेका छन् ।
गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीलाई सन् २०२६ सम्ममा मान्यता दिनेगरी योजना बनाएको बताए । डिजिटल करेन्सी सञ्चालन गर्न गहनरुपमा काम भइरहेको उनले बताए ।
मुलुकको जिडिपीमा सूचना प्रविधिको क्षेत्रले २ प्रतिशत योगदान पुर्याएको भन्दै उनले नेपालका लागि रोजगारी सिर्जना हुनुका साथै निर्यात गर्न सकिने उनको भनाइ छ ।
सूचना प्रविधिको सेवा निर्यातबाट विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रुपमा विकास हुने सम्भावना देखिएको अधिकारीले बताए ।
सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने उनको भनाइ छ । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा पछिल्लो समय इकमर्स, डिजिटल कारोबार वृद्धि हुँदै गएको बताए ।