काठमाडौं । सुन तस्करी प्रकरणमा १६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी र ३ भन्सार एजेन्टलाई पक्राउ गरेको छ ।
भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ आइतबार पक्राउ परेको विभागले जनाएको छ ।
यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा भन्सार एजेन्ट हुन् । विभागले उनीहरुलाई सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत स्कुटरको ब्रेक सु मा लुकाएर १०० किलो सुन काठमाडौं ल्याइएको थियो । भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले राति बरामद गरेको थियो ।