काठमाडौं । देशको अर्थतन्त्र रेमिट्यान्समै निर्भर छ । कुल ग्राहस्थ उत्पादनको अनुपातमा कम्तीमा २५ प्रतिशत हिस्सा रेमिट्यान्सको छ । रेमिट्यान्सबाटै देश चलेको छ । तर, रेमिट्यान्स उपयोग हुन सकेको छैन । दैनिक उपभोग्य क्षेत्रमा खर्च भइरहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ७२ प्रतिशत घर खर्च हुने गरेको छ । ५६ प्रतिशत भन्दा बढी व्यक्ति वैदेशिक रोजगारीमा संलग्न छन् । एक व्यक्ति विदेश जाने, परिवारका अन्य सदस्यले बसेर खाने प्रवृतिले रेमिट्यान्स उपयोग हुन नसकेको हो ।
कार्यालयका अनुसार १५।८ प्रतिशत रकम ऋण तिर्नमै खर्च हुने गरेको छ । विदेश जाँदा लागेको ऋण तिर्न नै श्रमिकलाई हैरान हुने गरेको छ । लाखौं खर्च गरेर विदेश जाने भएकाले उनीहरुले कमाएको महत्वपूर्ण हिस्सा ऋण तिर्नमै जाने गरेको हो । त्यस्तै ४।६ प्रतिशत बालबच्चाको अध्ययनमामा खर्च भइरहेको छ । गाउँघरको शिक्षा प्रभावकारी नभए पछि विदेशमा गएको केही महिनापछि शहरी क्षेत्रमा बसाइ सराइ गर्ने प्रवृति बढ्दै गएको छ ।
सम्पति जोड्ने, बचत गर्ने र लगानी वृद्धि गर्नेको हिस्सा निकै कम छ । खर्च धान्नै धौधौ भएपछि रेमिट्यान्स दैनिक उपभोगमै खर्च हुने गरेको हो ।
१।९ प्रतिशत रकम घरजग्गामा उपयोग भएको छ । जसले गर्दा उनीहरुको कुल सम्पत्ति नेटवर्थ बढेको छ । त्यस्तै १।९ प्रतिशत बचत हुने गरेको छ। उक्त बचत भने भैपरी आउने तथा सम्पति बढाउने क्षेत्रमै लगानी हुने गरेको पाइएको छ ।