ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । यूरोपको देश चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
झापा गौरादह नगरपालिका ४ घर भई हाल काठमाडौं साप्रेढुंगा बस्ने २७ वर्षीय अशोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले कृष्ण कुमार केसी लगायत ६ जनालाई ३ लाख ८५ हजार रुपैयाँ लिएर वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिने ठगी गरेका हुन् ।

त्यहाँ मासिक एक लाख रुपैयाँ कमाइ हुने आश्वासन दिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँ लागत लाग्ने बताएका थिए । रकम लिएर बेपत्ता भएपछि पीडितहरुले प्रहरीमा उजुरी गरेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

सेयर गर्नुहोस्