माओवादी बैठकमा खोजियो प्रचण्डको विकल्प

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोजी भएको छ । संस्थापनकालदेखि नेतृत्व गर्दै आएका प्रचण्डलाई दोस्रो तहका नेताहरुले प्रश्न गर्न थालेका छन् । एकछत्र नेतृत्व गर्दै आएका प्रचण्डकोे खुलेर कसैले पनि विरोध गर्न सक्दैनन् ।

तर, प्रचण्डको उत्तराधिकारी बनाउनुपर्ने आवाज उठिसकेको छ । प्रचण्डले नेतृत्व छोड्न नमान्दा उनले धेरै सहयात्री गुमाइरहेका छन् । डा. बाबुराम भट्टराई, मोहन वैध किरण, विल्पव लगायतका नेताहरुले उनको साथ छोडे । तर, उनले सधैं नेतृत्वमै रहिरहे दाउ गरे ।

उनको विपक्षमा लाग्ने दोस्रो तहका नेताहरु जन्मिन सकेनन् । बरु उत्तराधिकारी को भन्ने भन्ने विषयमा हानथाप भयो । अहिले प्रचण्ड पछिको नेता को भन्ने विषयमा खडेरी लागेको छ ।

माओवादीको अधिवेशनले महासचिव छान्न सकेन । लामो समयसम्म महासचिव छान्न प्रचण्डलाई सकस नै प¥यो । महासचिव दावेदारमा रोल्पा र रुकुमका नेताहरुको प्रबल दावेदार थियो ।

वर्षमान पुन र जनार्दन शर्माबीच शितयुद्ध नै भयो । दुवै जना आफू महासचिव हुनुपर्ने, आफू नहुँदा अर्को महासचिव हुन नहुने रणनीतिमा लागे । दुवै जना दोस्रो रणनीतिमा सफल भए ।

प्रचण्डले देव गुरुङलाई महासचिव बनाए । पछिल्लो समयमा त विप्लवसाग एकीकरण गरी महासचिव दिने भन्ने विषयमा पनि चर्चा चल्यो ।

माओवादीमा दोस्रो तहका नेताहरुमा प्रचण्डलाई वाहिपास गर्न सक्ने आँट, साहस र हिम्मत देखिदैँन । मन बाँधेर भए पनि नेतृत्व मान्न तयार छन् ।

बरु प्रचण्ड पछि को नेता बन्ने भन्नेमा माओवादीमा अन्योल र अलमल छ । धेरै नेताहरु बीच हानथाप छ । प्रचण्डले अहिले नै आफ्नो उत्ताराधिकारीका रुपमा कसैलाई अघि सारेका छैनन् ।

पुन, शर्मा उदाउँदा नेता हुन् । दुवै प्रचण्डलाई रिझाउन र खुसी पार्नमै लागेका छन् । संभावित नेताका रुपमा कहलिएका कृष्ण महरा विभिन्न काण्ड र आरोपमा मुछिए पछि उनको राजनीति ओरालो लागेको छ ।

बैठकमा प्रचण्डसँग विद्रोहको संकेत सुनिन थाले पनि खुलेआम बोल्न अझै हिच्किचाउने गर्छन् दोस्रो तहका नेताहरु ।

उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहालको विकल्प कसैले नखोजेको दावी गर्छन् । तर, अध्यक्षको उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने उनले आवाज उठाएका छन् ।

अध्यक्षलाई सहयोग गरेर जाने र उत्तराधिकारी तयार गर्न विधिको विकास गरेर जाने उनले बताए ।

पार्टीमा विचारमा लडाइ छैन । तर, विधिका विषयमा पनि बहस हुन थालेको छ । उनले पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्नुपर्ने उनले बताए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएको दावी गर्छन् । तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गरेको प्रचार हुने उनले बताए ।

आफ्नो मत थाती राखेर भए पनि प्रचण्डको पक्षमा बोलेको उनले दावी गरे । कुनै पनि मोडमा असहयोग नगरेको उनले प्रचण्डलाई विश्वास दिलाए ।

सेयर गर्नुहोस्