सेप्टेम्बरमा परम्परागत मेला–महोत्सवले रङ्गिँदै पोर्चुगल र स्पेन

सेप्टेम्बर महिना सुरु भएसँगै पोर्चुगल र छिमेकी मुलुक स्पेनका विभिन्न गाउँ तथा सहर परम्परागत मेला, धार्मिक जात्रा, अङ्गुर भित्र्याउने उत्सव र सांस्कृतिक महोत्सवले रङ्गिन थालेका छन्। स्थानीय संस्कृति, परम्परागत वेशभूषा, खानपान, सङ्गीत र नृत्यलाई नजिकबाट अनुभव गर्न चाहनेहरूका लागि यो महिना विशेष अवसर बनेर आएको छ।
पोर्चुगलमा सेप्टेम्बरको सुरुवात पाल्मेलाको प्रसिद्ध फेस्ता दास भिन्दिमास अर्थात् अङ्गुर भित्र्याउने महोत्सवबाट हुँदै छ। सेप्टेम्बर ३ देखि ८ तारिखसम्म सञ्चालन हुने यो महोत्सवमा अङ्गुर कुल्चेर रस निकाल्ने परम्परा, स्थानीय वाइनको प्रदर्शनी तथा स्वाद परीक्षण, सांस्कृतिक झाँकी, लोकनृत्य, सङ्गीत र आतसबाजी प्रस्तुत गरिन्छ। पोर्चुगलको प्रमुख वाइन उत्पादन क्षेत्रमध्येको एक पाल्मेलामा आयोजना हुने यो उत्सवले स्थानीय कृषि, वाइन र सांस्कृतिक जीवनलाई एकै स्थानमा जोड्छ।
नाजारेमा सेप्टेम्बर ४ देखि १३ तारिखसम्म नोसा सेन्योरा दा नाजारेको सम्मानमा विशेष उत्सव हुँदै छ। करिब आठ सय वर्ष पुरानो धार्मिक आस्थासँग जोडिएको यस उत्सवमा धार्मिक अनुष्ठान, जुलुस, प्रार्थना, स्थानीय सांस्कृतिक प्रस्तुति र सङ्गीत समावेश गरिन्छ। समुद्रसँग नजिकको सम्बन्ध रहेको नाजारेका स्थानीय बासिन्दा र माछा मार्ने समुदायका लागि यो पर्व विशेष महत्त्वपूर्ण मानिन्छ।
भिजेउमा अगस्ट ६ देखि सुरु भएको प्रसिद्ध फेइरा दे साउँ मातेउस सेप्टेम्बर ६ तारिखसम्म चल्नेछ। छ सय वर्षभन्दा लामो इतिहास बोकेको यो मेला पोर्चुगलको सबैभन्दा पुरानो र ठूलो लोकप्रिय मेलामध्ये एक हो। स्थानीय परिकार, हस्तकला, व्यापारिक प्रदर्शनी, मनोरञ्जनात्मक खेल, संस्कृति र सङ्गीतका कारण हरेक वर्ष ठूलो सङ्ख्यामा मानिसहरू भिजेउ पुग्ने गर्छन्।
सेप्टेम्बर ९ देखि १४ तारिखसम्म पोन्ते दे लिमामा आयोजना हुने फेइरास नोभास यस वर्ष अझ विशेष हुनेछ। पोर्चुगलका ठूला परम्परागत जात्रामध्ये एक मानिने यस मेलाले सन् २०२६ मा दुई सय वर्ष पूरा गर्दै छ। नोसा सेन्योरा दास दोरेसको सम्मानमा आयोजना हुने मेलामा धार्मिक जुलुस, लोकनृत्य, परम्परागत पोसाक, घोडा तथा पशु प्रदर्शनी, सांस्कृतिक झाँकी र आतसबाजी प्रस्तुत गरिन्छ। पोर्चुगलको सबैभन्दा पुरानो सहरका रूपमा परिचित पोन्ते दे लिमाको इतिहास र स्थानीय संस्कृतिलाई बुझ्न पनि यो मेला विशेष अवसर हो।
लिस्बनबाट नजिकै रहेको आलेन्केरमा सेप्टेम्बर १७ देखि २० तारिखसम्म आल्मा दो भिन्हो महोत्सव आयोजना हुँदै छ। पोर्चुगलका विभिन्न क्षेत्रका वाइन उत्पादक सहभागी हुने यस कार्यक्रममा वाइन स्वाद परीक्षण, अङ्गुर कुल्चिने परम्परा, स्थानीय परिकार, खाना र वाइनको संयोजन तथा विभिन्न सांगीतिक प्रस्तुति समावेश गरिन्छ।
एल्भासमा सेप्टेम्बर १८ देखि २७ तारिखसम्म सेन्योर जेजुस दा पिएदादको सम्मानमा धार्मिक उत्सव तथा एक्स्पो साउँ मातेउस आयोजना हुनेछ। धार्मिक तीर्थयात्रा, परम्परागत जुलुस, व्यापारिक प्रदर्शनी, स्थानीय खानपान, मनोरञ्जनात्मक खेल र सांगीतिक कार्यक्रमले एल्भासलाई दस दिनसम्म उत्सवमय बनाउनेछ।
मडेइरामा अगस्टको अन्तिम साताबाट सुरु भएको प्रसिद्ध वाइन महोत्सव सेप्टेम्बर १३ तारिखसम्म चल्नेछ। अङ्गुर भित्र्याउने परम्परा, मडेइरा वाइनको स्वाद परीक्षण, परम्परागत वेशभूषा, लोकनृत्य र सांस्कृतिक झाँकी यस महोत्सवका प्रमुख आकर्षण हुन्।
छिमेकी मुलुक स्पेनमा पनि सेप्टेम्बरभरि विभिन्न ऐतिहासिक र परम्परागत उत्सव आयोजना हुँदै छन्। मेरिदामा सेप्टेम्बर १ देखि ६ तारिखसम्म फेइरा दे मेरिदा सञ्चालन हुँदै छ। यस मेलामा धार्मिक तथा सांस्कृतिक गतिविधि, घोडा प्रदर्शनी, स्थानीय खानपान, पारिवारिक मनोरञ्जन र सङ्गीत प्रस्तुत गरिन्छ।
स्पेनको आलिकान्ते प्रान्तअन्तर्गत भियेनामा सेप्टेम्बर ४ देखि ९ तारिखसम्म मोरोस इ क्रिस्तियानोस महोत्सव आयोजना हुँदै छ। मध्ययुगीन इतिहासमा आधारित यस पर्वमा हजारौँ मानिस मूर र क्रिस्चियन सेनाको आकर्षक पोसाक लगाएर विशाल जुलुसमा सहभागी हुन्छन्। बाजागाजा, ऐतिहासिक अभिनय र भव्य पोसाकका कारण यो स्पेनका आकर्षक परम्परागत उत्सवमध्ये एक मानिन्छ।
भायादोलिदमा सेप्टेम्बर ४ देखि १३ तारिखसम्म भिर्हेन दे सान लोरेन्सोको सम्मानमा उत्सव आयोजना हुँदै छ। धार्मिक जुलुस, फूल अर्पण, परम्परागत झाँकी, सडक मनोरञ्जन, सांगीतिक कार्यक्रम र आतसबाजीले सहरलाई उत्सवमय बनाउनेछ।
स्पेनको ग्रानादा प्रान्तका बाजा र ग्वादिक्समा मनाइने कास्कामोर्रास महोत्सव निकै अनौठो छ। सेप्टेम्बर ६ तारिख बाजामा र ९ तारिख ग्वादिक्समा आयोजना हुने यस उत्सवको इतिहास पन्ध्रौँ शताब्दीसँग जोडिएको छ। हजारौँ मानिस शरीरमा कालो रङ लगाएर कास्कामोर्रास नामक पात्रसँग सडकमा दौडन्छन्। यो स्पेनको अन्तर्राष्ट्रिय पर्यटकीय महत्त्व प्राप्त पर्वसमेत हो।
भालेन्सियाको आल्जेमेसीमा सेप्टेम्बर ७ र ८ तारिख मारे दे देउ दे ला सालुत महोत्सव मनाइन्छ। युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश यस उत्सवमा मानव टावर, परम्परागत नृत्य, सङ्गीत, धार्मिक नाटक र जुलुस प्रस्तुत गरिन्छ। करिब एक हजार चार सय स्थानीय कलाकार तथा सहभागीले विभिन्न सांस्कृतिक प्रस्तुति दिने भएकाले यो पर्व निकै भव्य मानिन्छ।
आल्बासेतेमा सेप्टेम्बर ७ देखि १७ तारिखसम्म फेइरा दे आल्बासेते आयोजना हुँदै छ। तीन सय वर्षभन्दा पुरानो यस मेलामा धार्मिक जुलुस, हस्तकला, कृषि तथा पशु प्रदर्शनी, स्थानीय परिकार, लोककला, सङ्गीत र मनोरञ्जनात्मक खेल समावेश हुन्छन्। यो स्पेनको अन्तर्राष्ट्रिय पर्यटकीय महत्त्व प्राप्त प्रमुख मेलामध्ये एक हो।
तारागोनामा सेप्टेम्बर १५ देखि २४ तारिखसम्म सान्ता टेक्ला महोत्सव आयोजना हुँदै छ। मानव टावर, विशाल परम्परागत पुतला, आगोसहितको कोरेफोक, लोकनृत्य, धार्मिक जुलुस र आतसबाजी यस उत्सवका प्रमुख आकर्षण हुन्। कातालोनियाको इतिहास, परम्परा र सामुदायिक संस्कृतिको जीवन्त रूप यस पर्वमा देख्न पाइन्छ।
सेप्टेम्बरमा पोर्चुगल वा स्पेन घुम्ने योजना बनाइरहेकाहरूका लागि यी मेला तथा महोत्सवले मनोरञ्जन मात्र होइन, स्थानीय समुदायको इतिहास, धार्मिक आस्था, कृषि परम्परा र जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसरसमेत प्रदान गर्नेछन्।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *