नेपालको अर्थतन्त्र : जटिल र जर्जर

काठमाडौं । नेपालको अर्थतन्त्र जटिल र जर्जर बन्न थालेको छ । अर्थतन्त्रका सम्पूर्ण सूचकहरु नकारात्मक बनेका छन् ।

युवाहरुमा निराशा छाउन थालेको छ । अर्थतन्त्र मजबुत भएका ठूला कम्पनीहरु पनि टाट पल्टिन थालेका छन् । देशको अर्थतन्त दिनप्रतिदिन डामाडोल बन्न थालेपछि स्वदेशमा केही गर्ने युवाहरुको चाहनामा ठेस लागेको छ ।

विदेश नजाने, स्वदेशमै काम गर्ने सोच बनाएका युवाहरु पछिल्लो समयमा धर्मराएका छन् । अर्थतन्त्र जटिल अवस्थातर्फ जान थालेपछि युवाहरु मात्र होइन, सिंगो देश नै त्रसित बनेको छ ।

राजनीतिक दलहरु पनि सशंकित बन्न थालेका छन् । प्रायःजसो अर्थतन्त्र ठिकठाक रहेको ढाकछोप गर्ने सरकारी निकायहरु पनि यर्थार्थ धरातलबाट उम्किन सकेका छैनन् ।

राजनीतिक दलमा अर्थतन्त्र बिगारेको आरोप प्रत्यरोप हुन थालेको छ ।  बैतडी पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका कारण रोजगारी गुम्दै गएको र युवाहरु विदेश जान वाध्य बएको बताए । उनले अर्थतन्त्र बिगार्ननुमा वर्तमान सरकार नै दोषि भएको बताउँछन् ।

पछिल्लो समयमा यसरी एकले अर्काेलाई दोष दिने काम पनि सुरु भएको छ । जेहोस्, अर्थतन्त्र जटिल मोडमा रहेको सबै सशंकित छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सानोतिनो प्रयासले अर्थतन्त्र लयमा आउन नसक्ने बोलिसकेका छन् ।

अर्थतन्त्रको घनिभुत बहसमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र जोगाउनका लागि नयाँ कदम चाल्न आवश्यक भइसकेको बताएका छन् ।

उता अर्थमन्त्री प्रकाशरण महतले पनि अर्थतन्त्रका सूचकहरु सकारात्मक नरहेको भन्दै सुधारका लागि विशेष कदम चाल्न आवश्यक भएको बताइरहेका छन् ।

निजी क्षेत्रका प्रतिनिधिहरुले पनि अर्थतन्त्र धराशायी भएकाले यसको सुधारका लागि सरकार र नीजिक्षेत्रको सहकार्यको विकल्प नरहेको घच्घच्याइरहेका छन् ।

अर्थतन्त्रको बारेमा बुधबार अर्थ सरोकारवाला निकायसँग छलफल गरेको छ । सो क्रममा राष्ट्र बैंकले समेत आर्थिक स्थिति डामाडोल भएकाले सचेत रहन सबैसँग आग्रह गरेको छ ।

निर्माण क्षेत्रमा मागको कमी, सहकारी तथा लघुवित्तको समस्या र दुर्गा प्रसाईंको ऋण नतिर्ने आन्दोलनका कारण संकट निम्तििएको राष्ट्रबैंकले ठहर गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईले राजतन्त्रको वकालत गर्दै केही दिनअघि आन्दोलनको घोषणा गरे । सँगसँगै उनले २० लाख भन्दा कम कर्जा मिनाह गर्नुपर्ने आवाज उठाए ।

यसले अर्थतन्त्रमा अराजकता फैलाएको छ । ऋण मिनाहा गर्ने फन्दाले बैंक तथा वित्तीय संस्था टाट पल्टिने अवस्थामा पुगेका छन् ।

ऋण प्रवाह गर्न डराइरहेका छन् । व्यवसायीहरुले ऋण पाएका छैनन् । जसले गर्दा अर्थतन्त्र ठप्प हुन पुगेको छ ।

निर्माण क्षेत्र ठप्प प्रयः छ । ४० प्रतिशत पनि उपयोग हुन नसकेको राष्ट् बैंकले जनाएको छ । यसो हुँदा ठूला उद्योगहरु चलायमान हुन सकेका छैनन् । यसले अर्थतन्त्र जटिल मोडमा पुगेको देखाउँछ ।

देशभर ३० हजार सहकारी छन् । अहिले ८० प्रतिशतभन्दा बढी सहकारी जटिल समस्यामा छन् । ती सहकारीको निश्क्रिय कर्जा ह्वाट्टै बढेको छ ।

कर्जा उठ्न सकेको छैन । निक्षेप फिर्ता गर्न सकेका छैनन् । राम्रोसँग कुनै पनि सहकारी चलायमान हुन सकेका छैनन् । सहकारीमा ७३ लाख बढी आबद्ध छन् ।

यसबाट १० खर्ब परिचालन भएको छ । यसको समाधान बिना अर्थतन्त्रमा सुधार आउन सक्दैन ।
सहकारीकै समस्याका कारण धेरैजसो व्यवसायीले कर्जा पाएका छैनन् ।

त्यसमा दुर्गा प्रसाइको आन्दोलनले आगोमा घिउ थप्ने काम गरेको छ । गभर्नर महाप्रसाद अधिकारी सहकारी र वित्तीय समस्या समाधान गर्न नसक्दा अर्थतन्त्रमा अझ चुनौती थपिने बताउँछन् ।

सेयर गर्नुहोस्