विदेशमा बस्ने नेपालीलाई मताधिकार : कानुनी तयारी अन्तिम चरणमा

काठमाडौं । विदेशमा रहेका नेपालीलाई मताधिकार दिन गृहकार्य तीर्व बनाइएको छ । लामो समयदेखि विदेशमा रहेका नेपालीलाई मतदान गराउने विषयमा छलफल भए पनि सरकार ठोस निष्कर्षमा पुग्न नसकेको बेला पछिल्लो समयमा भने गृहकार्य अघि बढाइएको छ ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मतदान गराउन पछिल्लो केही समयदेखि आन्तरिक सुरु गरेको हो ।  सो विषयमा गैरआवासीय नेपाली संघले पनि चासो व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेट गरी विदेशमा रहेका नेपालीको मताधिकारको कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गरे ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको तयारी अन्तिम चरणमा पुगेको बताए । आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने थपलियाले बताए ।

गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने आयुक्त थपलियाले बताए । नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै काम सुरु गर्ने उनको भनाई थियो ।

संघका कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

सेयर गर्नुहोस्