बिदाको दिन लिजवन बाहिरको यात्रा अनुभव

बिजय गुरुङ्ग 

डेढ वर्षको पोर्तुगल बसाईमा लिजबन र आसपासका केही पर्यटकीय स्थलहरु घुमेता पनि राजधानीदेखि परको अन्य क्षेत्रहरु जाने अवसर जुरेको थिएन। घुमघाम पोर्चुगलद्धारा मार्च २२ मा आयोजित १ दिने भ्रमण मेरो निम्ति मोफसलको पोर्तुगल चिन्ने अवसर बन्यो ।

बिहान ७ बजे लिस्बनको मार्कस पम्बलबाट पहिलो यात्रु समूहको रुपमा चडेका हामी, काइस दो सोद्रे हुँदै अलमेदा पार्क आइपुग्दा करिब ४० जनाको समूह बनिसकेका थियौं। समूहमा साना १ वर्षको नानीदेखि ७०७५ वर्षसम्मका बुवाआमाहरु थिए। भिन्न पेशा, समुदाय, पृष्ठभुमि, र ठाउँका नेपाली अटाएको हाम्रो टोली आफैंमा एउटा मिनिनेपाल थियो । यसकारणले पनि हाम्रो दिनभरको सहयात्रा खल्लो र एकसुरे हुन गएन।

सबैजनालाई उठाएपछि, आठ बजे अल्मेदा पार्कबाट हाम्रो यात्रा आरम्भ भयो। चौडा फराकिला सडकमा गाडी रफ्तारमा हुइंकिन थाल्यो। लिजबनको सिमाना कटेसँगै, सडक वरपर विशाल कृषि फार्महरु देखिए। (आफ्नो प्रतिकुल स्वास्थ्यको बावजुद पनि) भ्रमणका संयोजक, रमेश दाइले माइक मार्फत बीचमा देखिएका नदिनाला, सम्पदा, उद्योग, शहरलगायतकाो बारे बिस्तृत जानकारी दिइरहनुभएको थियो ।  मनोरञ्जनात्म माहोल बनाउनमा केही कमि हुन दिएका थिएनन्। पोर्तुगलको कृषि समृद्धिको दृश्य हाम्रा निम्ति झन्डै १०० किलोमिटरको यात्राभरको सहयात्री बनिरहे। कहिले अङ्गुरका बिरुवा, कतै रंगीचंगी फुलहरु, लस्करै देखिएका जैतन खेति, कतै बाख्रा, भेडा, र घोडा, गधा ।

मलाइ बिचमा फराकिलो घांसे मैदनमा निर्बाध चरिरहेका गाइहरु सम्झ्नालायक रह्यो। सानोमा ती दूध पाउडरका डब्बाहरुमा भएका गाइहरु जस्तै। पोर्तुगलको कुल गार्हस्थ्य उत्पादनमा २५ भन्दा केही बेशी मात्रै अंश भएको कृषिको बिराट रुपले म एक कृषिप्रधान मुलुकको छोरालाई कताकता गिज्याएको, कताकता डाहाले बिझाएको झैँ लागिरह्यो।

गाडीभित्र जोड्ले घन्किरहेको लोक भाकाहरुले नेपालमै यात्रा गरिरहेको छनक त दिइरहेको थियो। हाम्रो गाडि मल्टी लेन हाइवे छाडेर घना रुखहरु माझको साँघुरो र नागबेली सड्कलाइ छिचोल्न पुग्यो। त्यतिबेला, कतिले ठ्याक्कै, दामनको बाटो जस्तै भने, त कतिले भने—सिन्धुली जाने बिपि राजमार्ग जस्तै। तर मलाइ भने, ठाउँठाउँमा बिपरित दिशामा गुडिरहेका गाडि एकले अर्कालाई पास होउन भनेर, रोकिएर छेउ लाग्दा भने मलाइ गृह जिल्ला जाने पृथ्वी राजमार्गको यात्रामा पुर्‍याइदियो। ूअब ५ मिनेटमा हामी ड्रोनेस पुग्छौँ,ू रमेश दाइको स्वर सुन्नासाथ, ड्रोनसलाई हेर्ने उत्साह सबैको मुहारमा छर्लङ्ग देखिएको थियो।

ड्रोनेस९म्चयलभक० सानो, शान्त, स्वच्छ, र मनमोहक ठाउँ रहेछ। गाडी रोकेको सडकबाट ४,५ मिनेट हिंडेपछि, ड्रोनेस ताल किनार पुगिंदो रहेछ। ड्रेनेस तालको मनोहर दृश्यले मलाइ स्तब्ध बनाएको हो। हामीले २ वटा बोट रिजर्भ गर्‍यौं, र शुरु भयो ड्रोनेस तालको जलयात्रा। डुङ्गा चल्ना साथ, फेरि ब्लुटुथ स्पिकरहरु घन्किन थाले र शुरु भयो । नाचगान, फोटो भिडियोको लहर।

ड्रोनेस तालमा डुङ्गामा सयर हुंदा, पोखरेलीहरुलार्र्इ पक्कै फेवातालको झझल्को आउंदो हो ? त्यसैले त, माझीदाइ पोखरा फेवातालको‘ भन्दै कोहि टिकटक खिचिरहेका थिए। कन्चन हरियो तलाउ, शितल हावा, घमाइलो दिन, तलाउमा सयर २ डुङ्गाभरिका हंसिला चम्किला अनुहारहरु, यस्तो लाग्यो, जिन्दगी र संसारमा केही समस्या नै छैन्। सबै ठिक छ। पलभरलाई सहि—लाइफ वाज पर्फेक्ट ।

हाम्रा चालक अत्यन्तै विनयशील रहेछन्, उनका ठाउँमा बसेर हामीहरुलार्इ तस्बिर लिन र भिडियो गर्न पनि दिए। नाचगान, फोटो, भिडियो, टिकटक बनाउने क्रम चलिरह्यो। २ वटा डाँडाहरु कटे पछि तलाउको तटमा गाउँ अवस्थित छ। त्यस गाउँलाई हामिले डुङ्गाबाटै हेर्‍यौं। शान्त, स्वच्छ, र म सायद, ड्रोनस किनारमा अवस्थित ती गाउँ, सायद नेपालि भूमिमा भएको भए आदिकालमा ऋषिहरुले तपस्या गरेका ठाउँ बन्ने थिए, वा देवताले बास गरेको भन्ने जनबिश्वास रहन्थ्यो। मनमा एक सदिच्छा जाग्यो, यस्तै ठाउँमा एकछिन लाग्यो म यहि ठाउँमा सारा जिन्दगी बिताउन पाएँ ।

डुङ्गाको नाचगान र बिहानदेखि खाली पेट बसेकाले हामी निकै भोकाएको थियौं। तालबाट फर्किएर सहयात्रीहरु दिनको पहिलो क्याफिन सट लिन आतुर देखिन्थे। कोहि कोकाकोला र जुस पिइरहेका थिए भने कसैले जौं झोल र सोमरस। हामीले भने, खाना अर्डरको जिम्मा हाम्रा गाडिका चालकलाई सुम्पियौं। किन ? उनि पोर्तुगिस भएकाले, उनलाई स्थानीय पकवान बारे हामीभन्दा बढी नै जानकारी भएको र उत्कृष्ट खाना मगाउनेमा ढुक्क थियौं।

रमेश दाइले, हामी नेपालीहरु जहाँ गए पनि नेपाली खानाकै पछि लाग्ने प्रवृत्तिको निन्दा गर्नुभयो। हुन पनि स्थानीय पाकवान बारे बुझ्नु, र स्वाद लिनु यात्राको अभिन्न अंश हो। त्यसैले हामीले पिउनको लागि पनि स्थाननीय अङ्गुर (रस मर्चा मिश्रित) मगायौं—अथेन्टिक लोकल ब्रान्ड। वाइन लिंदै गर्दा, हाम्रो अर्डर— तालको ताजा माछा, भेडाको मासु, पोर्तुगिस भात, तारेको आलु— आइपुग्यो। एकैछिनमा सबै खाना सिनित्त पार्‍यौ। हाम्रो चालकलाई खाना अर्डरको जिम्म सुम्पेको कुराले हममीलार्इ निरास बनाएन। अहिले, यो हरफ लेखिरहंदा समेत ड्रोनेसमा खाएको माछाको स्वाद सम्झिएर मुख रसाएको छ।

खानपिन पछिको उर्जासाथ हामी गाडिमा चड्यौ। गाडि भित्रको सांगीतिक माहोलमा गफिंदै हामी करिब ४५ मिनेटमा पावरहाउस, कास्तेलो दे बोड ड्याम पुग्यौं। झलक्क हेर्दा हाम्रो नेपालको कुलेखानी ड्याम जस्तै देखिने ड्यामबाट सन १९५१ मा निर्माण सम्पन्न भएको रहेछ। १३८ मेगावाट बिधुत उत्पादन हुंदो रहेछ। त्यती मात्रै नभएर, लिजबनमा हाम्रो धारामा आइपुग्ने पानीको मुहान पनि यहि हो भन्ने जानकारी रमेश दाइबाट पायौं। बुवाआमाहरु आफूभन्दा पनि जेठो पावर हाउसको संरचना देखेर चकित परे। ड्यामबाट खोंच हुँदै शान्त बगेको नदिको दृश्य पनि कम्ती मनमोहक थिएन ।

त्यस पछि हाम्रो भ्रमणको अन्तिम गन्तव्य, युरोपकै सबैभन्दा लामो नदी, टेजु नदि (१००७ किमि) को बिचमामा अवस्थित सुरक्षा किल्लाकोट, कास्तेलो अल्मोरल अवलोकन गर्न गयौ। डुङ्गा चडेर जान पर्ने उक्त किल्ला, बाह्रौं शताब्दीतिर बनेको रहेछ। कास्तेलो अल्मोरल केवल किल्ला नभएर एउटा युग बोकेका सम्पदा र धरोहर रहेको पाएँ। तेजु नदिका आसपास रहेका अन्या किल्लाहरुसँग समन्वय गरि सुरक्षात्मक पंक्तिको को निमार्ण गर्ने हेतुले बनाएको देखिन्छ। समयको कठोरतम परीक्षाहरुमा खरो उत्रेका, त्यहाँ प्रयोग भएका प्रविधि र निर्माण कला पछाडिको मगज र हातहरुलाई कोटिकोटि सलाम।

मैले विशेष गरि यस्ता एकदिने भ्रमण, नेपालबाट घुम्न आएका बाआमाहरुको निम्ति एक्लोपन मेट्ने र आफ्नो समउमेरकाहरुसँग जोडिने राम्रो अवसर भएको पाएँ। वहाँहरु बिरानो परदेशको भूमिमाआफ्नो दौंतरिहरुसँग टहलिन पाउँदा सन्तुष्ट देखिन्थे। र म जस्तै लिजबनको उराठिलो जीवन जोताइमा पिल्सिएका हरुलाइ लागि एक दिनलार्इ भए पनि प्रकृतिको समीप रहंदा बेग्लै नया अनुभूति हुंदो रहेछ। हप्ता भरि काममा दलिएको शिथिल शरीरलार्इ नयाँ ठाउँको यात्रा र भिन्न मान्छेहरुसँगको सहयात्राले पुनरताजगी र उर्जाशील अवश्य बनाउँछ। रुटिनबद्द दैनिकबाट उराठिएको मेरो तनमनलाई त एकदिने भ्रमण सन्जिबनी नै साबित भयो। सम्भवत, अरुको सवालमा पनि उत्तिकै प्रभावकारी रह्यो होला।

रमाइलोका पलहरु छोटा नै हुन्छ्न । शान्त, सुन्दर ठाउँमा रमाइला गफ गर्दागर्दै कति बेला दिन ढल्यो पत्तै पाइएन। सबै यात्रा समय तालिका अनुरुप नै चलिरहेकोले, हामप् पूर्व निर्धारित समयमा नै लिस्बन फर्किसक्ने पक्का थियो। जौंरसको जोसमा गुडिरहेको गाडिमै ूसाली मन पर्‍योू भन्दै नाचिरहेका एक मित्रले भने, ूआजै त हो रमाइलो गर्नी, भोलिदेखी त फेरि उहि हो—काम । काम । उफ। दिनलाई बिदाइ गर्दै परबाट घामले अन्तिम मधुरो धर्साहरु धर्तिमा छर्दै थिए। मेरा नजर भने सिसा बाहिरका बद्लिरहेका द्रुश्यहरु एकटकले गडिरहे।  –(लमजुङ्ग
हाल लिजवन पोर्चुगल)

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *