रातो पासपोर्ट कि सपनाको हत्यारा ?

तुलसी सुवेदी
पोर्चुगलमा खासै कमाइ छैन । यहाँको कमाइले आफू पालिन र परिवार पाल्न सकस छ । यहाँको बेसिक अन्य देशको तुलनामा न्यून छ । तर, पनि अधिकांश आप्रवासीको गन्तव्य पोर्चुगल हुने गर्छ । अन्य देशमा आकर्षक कमाइ छोडेर पोर्चुगल आउने लर्को लाग्यो । सडकको बाटो हुँदै महिनौं हिँडेर, लुकेर, अनेक हण्डर खाएर पोर्चुगल आइपुगेका आप्रवासी अहिले पम्पुरामा हात राखेर बसिरहेका छन् ।

जे सपना देखेर पोर्चुगल छिरे । जे सपना देखेर अनेक हण्डर खाएर पोर्चुगल आए, अवस्था ठ्याक्कै उल्टो भइदियो । अनेक सास्ती खेपेर पोर्चुगल आइपुगेका अधिकांश आप्रवासी तनावमा छन् ।
‘रातो पासपोर्ट’ को सपना देखेर पोर्चुगल छिरेका आप्रवासी तथा तिनका परिवारमा रुवावासी चलेको छ । पोर्चुगलमा केही समय काम गरेर कार्ड बनाउने अनि पारिवार ल्याउन सोचेको आप्रवासीको यतिखेर ‘सपनाको हत्या’ भएको छ ।

अन्य देशको तुलनामा पोर्चुचलमा सहजै कार्ड बन्ने भएकाले अधिकांश आप्रवासीको सपनाको देश बनेको थियो । कार्डकै लागि अर्थात रातो पासपोर्टकै लागि अनेक दुःख कष्ट सहेर धेरै आप्रवासी पोर्चुगल छिरे । यहाँको पासपोर्ट लिएर यूरोपियन मुलुकका आकर्षक देशमा आकर्षक कमाइ गर्न सहज हुन्छ । क्यानडा, अमेरिका, अष्ट्रेलिया जान पनि सहज हुने भएकाले रातो पासपोर्टको सपना बोक्नु स्वभाविक नै हो ।

यहीँ सोचका साथ, यहीँ सपनाका साथ एशियन, अफ्रिकन मुलुकका अधिकांश मानिसहरु पोर्चुगल आउन मरिहत्ते गर्छन् । तर, पछिल्लो समयमा यहाँको नियमले आप्रवासीलाई सकस पारेको छ । पछिल्लो समयमा आएको, आउँदै गरेको नियमले अब पोर्चुगलको आकर्षण पनि ह्वाट्टै घट्दै गएको छ ।

पोर्चुगलले लामो समयदेखि आप्रवासीलाई संरक्षण दिएर स्वागत गर्दै आएको थियो । अरु देशमा भिसा लगाएर आएकाले सजिलैसाग यहाँ काम दिने, प्रक्रिया पूर्‍याएर अस्थायी बसोबास कार्ड दिन्छ । तर, २०२४ जुनदेखि यस्तो नियम खारेज भइसकेको छ । पोर्चुगलले आफै भिसा दिएर आप्रवासी भित्र्याउन चाहे पनि त्यो तत्काल सम्भव देखिएको छैन । केही आए पनि सजिलै कार्ड पाउने, काम पाउने समस्या यथाथत छन् ।

यसअघि यूरोपियन मुलुकका अन्य देशमा भिसा लगाए पनि त्यहाँ नरोकिएर सिधैं पोर्चुगल आउने गर्थे । अब स्पेन, जर्मन लगायतका देशमै सिधैँ आएर त्यतै बस्न थालेका छन् । यहाँको सिष्टममा जोडिन सकस भएपछि आप्रवासीहरु अन्य देशमै रोकिन वाध्य भएका छन् । कतिपय त स्रोत मुलुकमै रोकिएका छन् । अर्थात अन्य विकल्प खोज्न थालेका छन् ।

पछिल्लो समयमा आएको र आउँदै गरेको नियमले अब पोर्चुगल सोचनीय विषय बन्न थालेको छ । यहाँको पार्टीहरुले आप्रवासीलाई कडाइ गर्ने आवाज बुलन्दरुपमा उठाइरहेका छन् । सेगा पार्टीले आप्रवासी रोक्नुपर्ने संसदमा आवाज उठाइरहेको छ ।

त्यसो त पोर्चुगलले आप्रवासीलाई भित्राउने कडाइ गरेको एक वर्षमै पारिवारिक पुर्नमिलनमा समेत कडाइ गरेको छ । अब आप्रवासीले कार्ड आएको दुई वर्षपछि मात्रै परिवारका सदस्य लिन पाउने भएका छन् । पहिला सजिलै कार्ड लिन कानुनी व्यवस्था भएपनि अब परिवारका सदस्य ल्याउनमा कडाइ हुँदै आएको छ । यद्यमी परिवारिक पुर्नमिनलको डेट नखुलेको दुई वर्ष बढी भइसकेको छ । यहाँको मन्त्रिपरिषद् र संसदले पहिलो कार्ड बनेको २ वर्षमा परिवार ल्याउन नपाइने प्रस्ताव पारित गरेसँगै धेरै आप्रवासीमा तनाब बढेको छ । यद्यपि उक्त प्रस्ताव राष्टपतिले अनुमोदन गर्न बाँकी छ ।

पोर्चुगलमा रोजगारीका अवसर सीमित छन् । नयाँ रोजगारी पनि खासै बढ्न सकेको छैन् । कृषि र सेवा क्षेत्रमा यहाँ धेरै आप्रवासीले रोजगारी पाइरहेका छन् । सेगा लगायतका एकथरीले यहाँ अब आप्रवासी थेग्न नसकिने बताउँछन् । अर्कोथरीले भने आप्रवासी चाहिने बताउँदै आएका छन् । यहाँका यूवासमेत कमाउनकै लागि अन्य देश जाने गर्छन् । त्यसकारण पनि आप्रवासी पूर्णरुपमा कडाइ गर्न नसकिने यहाँको संस्थापनको जोड छ ।

पछिल्लो नियमानुसार यहाँ जन्मेका बच्चाले पनि अब सजिलै कार्ड नपाउने भएका छन् । दुई वर्ष कुर्नुपर्ने नियम ल्याइएको छ । बच्चाको जन्मको आधारमा कार्ड बनाएर अरु देशमा कमाउन जाने अप्रवासी पनि उल्लेख्य थिए । त्यसो त : नयाँ आप्रवासीमा रोक, आप्रवासीका परिवार तथा उनीहरुबाट जन्मेका बच्चालाई कार्ड दिन कन्ज्स्युई गरेपछि धेरै आप्रवासीहरु त्राहीमाम भएका छन् । पोर्चुगलका कोलोनी देशहरु ब्राजिल, अंगोला, काभो भेर्डे र एशियन मुलुकका आप्रवासी नराम्रारी प्रभावित भएका छन् ।

पोर्चुगलको नियमले धेरै आप्रवासीको परिवारमा बिचलन देखा पर्ने संभावना छ । पारिवारिक पुर्नमिलनको दिन कुरेर बसेका जोडीहरु पोर्चुगलको पछिल्लो नियम र हल्लाले आजित भइसकेका छन् । जोडीहरु वितृष्णा छाउनुका साथै सपनाको हत्या गरिएको महशुस गर्न थालेका छन् । पोर्चुगलमा १० लाख आप्रवासी छन् । केही आप्रवासीको कागजाती प्रक्रियामा छन् ।

केही वर्ष पहिले पोर्चुगल आकर्षक गन्तव्य मुलुकमा पर्थ्यो । यहाँको अहिलेको बेसिक ८७० यूरो छ । अन्य देशको तुलनामा यहाँको परिश्रमिक थोरै भए पनि कतिपय कम्पनीले बेसिक समेत नदिएर काममा लगाइरहेका छन् । २०/२५ लाख तिरेर पोर्चुगल छिरेका आप्रवासीले पारिश्रमिक पनि नपाउनु, कागजात पाउन पनि सकस हुँदा विचल्लीमा परेका छन् ।

अधिकांश आप्रवासीको लक्ष्य पोर्चुगलको नागरिक भएर राहदानी बनाउने हो । त्यसपछि आफूले चाहेको देशमा गएर सेटल हुने अधिकांशको सपना हुन्छ । तर, त्यसैका लागि वर्षौ यहाँ रुमलिनु परेपछि आजित भएका हुन् । कमाइ पनि नहुने र कार्ड कुर्न वर्षौ लाग्ने भएपछि धेरै आप्रवासीहरु ‘सपनाको हत्यारा’ रुपमा अर्थ्याएका छन् ।

यहाँ कमाइ नहुने भएकाले झण्डै ९० प्रतिशत आप्रवासीहरु राहदानी पाउनासाथ अन्यत्र सेटल हुन्छन् । एयरपोर्टको ट्रान्जिट पोइन्ट अर्थात नेपालको मुग्लिनको गाडीको जामको रुपमा पोर्चुगलका आप्रवासीलाई संज्ञा दिइन्छ ।

व्यापार व्यवसायमा लागेका समेत राहदानी पाएपछि अन्य देश जान खोज्छन् । केही सफल व्यवसायीहरु मात्र यहाँ जमेर व्यापार व्यवसायमा लागेका छन् । रोजगारीमा रहेका धेरैजसो श्रमिक अवसर खोज्दै अन्य मुलुक जान खोज्नु स्वभाविक नै हो ।

सेयर गर्नुहोस्