कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गरिने

काठमाडौं । परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गरिने भएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरण सम्बन्धी छलफलमा उक्त विषयमा छलफल चलेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति क्षमता बढाउन आवश्यक भएको बताए ।

बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको उनको भनाइ छ । संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएकाले प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘विदेश जाने नेपालीहरूको संख्या बढेपनि परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोगहरू बलियो बनाइएको छैन । पूरानै दरबन्दी भएकाले संख्याको अनुपातमा सेवा पाइरहेका छैनन् । संगठन र जनशक्ति व्यवस्थापन सुदृढ गरी विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्री दाहालले सचिवस्तरमा प्राविधिक तयारी गर्न निर्देशन दिएका छन् ।

सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सवलीकरण गर्नुपर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्