काठमाडौं । ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स् एप, इन्टाग्रामलगायतमा साथी बनाई कुराकानी गर्ने, विश्वास दिलाउने र विभिन्न सामान गिफ्ट पठाइदिएको भन्दै भन्सार शुल्क भन्दै रकम हाल्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।
अनालइनमा लगानी गर्दा रकम दोब्बरले बढ्ने भन्दै आश्वासन दिएर रकम हाल्न लगाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । उनीहरुले १६ लाख ५९ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।