बोर्डले दियो श्रमिकका परिवारलाई उपचार खर्च

काठमाडौं । वैदेशिक रोजगार बोर्डले पछिल्लो एक वर्षमा ११२ परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च उपलब्ध गराएको छ। वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च दिन्छ ।

बोर्डले आर्थिक वर्ष २०७९र८० मा ११२ परिवारका सदस्यलाई ५६ लाख रुपियाँ आर्थिक सहायता प्रदान गरेको जनाइएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले प्रतिबिरामी ५० हजार रुपियाँसम्म आर्थिक सहायता प्रदान गर्ने गरेको छ।

यो आर्थिक सहायता क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन्स र अल्जाइमर जस्ता गम्भीर प्रकृतिको रोग लाग्दा पाइने व्यवस्था बोर्डले गरेको छ ।

यसका लागि सरकारले ‘श्रमिकका परिवारको स्वास्थ्य उपचारसम्बन्धी मापदण्ड, २०७३’ भनेर छुट्टै मापदण्डसमेत बनाएको छ । श्रमिक आफैँले पालनपोषणको जिम्मा लिएको पतिपत्नी, छोराछोरी, आमाबुवा र महिला श्रमिकको हकमा सासूससुरालेसमेत यस्तो सुविधा पाउने व्यवस्था मापदण्डमा गरिएको छ ।

मापदण्डमा तत्काल शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र शल्यक्रिया गरी नियमित औषधी सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपियाँ पाइने व्यवस्था उल्लेख छ । यसका लागि वैदेशिक रोजगारीमा रहेका आफ्नो परिवारका सदस्यको श्रम स्वीकृतिको प्रतिलिपि पेस गर्नुपर्छ ।

राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकताको प्रतिलिपि, श्रमिक र बिरामीबिचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग खुल्ने गरी सरकारी अस्पताल वा मान्यता प्राप्त चिकित्सकको ‘प्रेसक्रिप्सन’ वा सिफारिसपत्रसमेत पेस गर्नुपर्ने परिवार स्वास्थ्यसम्बन्धीमा मापदण्डमा उल्लेख छ ।

मापदण्ड अनुसार उपचार खर्चबापतको रकम दाबीका लागि आफ्नो पालिकामार्फत बोर्ड सचिवालयमा आवेदन दिनुपर्छ । बिरामीको अवस्था हेरेर बोर्डले सिधै बिरामीको खातामा पैसा दिन्छ ।

बोर्डका निर्देशक राजन पौडेलले पहिले उक्त रकम दाबीका लागि बोर्डका सचिवालयमा आउनुपथ्र्यो अहिले पालिकामार्फत निवेदन दिएपछि सोही निवेदनका आधारमा सोझै बिरामीको खातामा पैसा जान थालेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सेयर गर्नुहोस्