पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध

काठमाडौं । निरन्तरको वर्षाका कारण पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ । दोस्रो ईनिङ सुरु हुन नसकेपछि खेल रद्द भएको हो ।

श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार खेल रद्ध भएसँगै दुबै टोलीले १।१ अंक बाँडे ।  पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।  टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो ।

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले ।  एक समय १४ दशमलब १ ओभरमा ६६ रन बनाउॅंदा ४ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए ।  किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए ।

जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४र१४ रन बनाए ।  पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३र३ विकेट लिए ।

पाकिस्तान यस खेलमा अंक बाडेसँगै सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ ।  सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।

यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । नेपालले भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ ।

सेयर गर्नुहोस्