साउदी क्लबले युरोपका प्रतियोगिता नखेल्ने

काठमाडौं । युरोपेली फुटबल महासंघ यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले साउदी अरेबियाका क्लबले च्याम्पियन्स लिग र युरोपा लिग नखेल्ने बताएका छन् ।

उनले युरोपबाहिर च्याम्पियन्स लिगको फाइनल खेलाउने सम्भावना नरहेको भन्दै खेल्ने कुनै संभावना नरहेको दावी गरेका हुन् ।

विश्वका स्टार खेलाडीहरु धमाधम साउदी अरेबियाका क्लबमा आवद्ध हुन थालेका छन् ।

‘हाम्रो युरोपका क्लबहरु मात्र च्याम्पियन्स लिग, युरोपा लिग र कन्फेरेन्स लिगमा सहभागी हुन सक्छन् ।’ उनले भने ।

उनले साउदी अरबको अहिलेको क्लब फुटबललाई केही वर्षअघिको चीनको क्लबको फुटबलसँग तुलना गरे । केही वर्षअघि युरोपका केही स्टार खेलाडी चिनियाँ क्लबमा आवद्ध भएका थिए ।

युरोपेली फुटबलमा मात्र नभएर विश्व फुटबलमै नाम कमाएका क्रिस्टियानो रोनाल्डो, नेमार, करिम बेन्जामा, एनगोलो कान्टे, रोबर्टो फिर्मिन्हो, सर्जियो मिलिनकोभिक, रियद महरेज, साडियो मानेलगायतका खेलाडी साउदी क्लबमा आवद्ध भएका छन् ।

सेयर गर्नुहोस्