रेमिट्यान्समा उल्लेख्य वृद्धि, महिनामा खर्ब भित्रियो

काठमाडौं । रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ । हरेक महिना १ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को तथ्यांक अनुसार असार मसान्तसम्म १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले बढी हो ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो । कतिपय नेपालीले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा पनि विगतको तुलनामा बढेको देखिएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो वृद्धिदर २.२ प्रतिशत थियो ।

कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा करिब २५ प्रतिशत छ । रेमिट्यान्सले देश चले पनि सरकारले रेमिट्यान्स व्यवस्थित गर्न आकर्षक योजना ल्याउन सकेको छैन । विदेशमा रहेका नेपालीको हितका लागि पनि काम गर्न नसकेको, रेमिट्यान्सको लागत पनि महंगो भएको गुनासो आउने गरेका छन् ।

सेयर गर्नुहोस्